
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट दुईवटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल, ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बु र धनुषाका २१ वर्षीय विकल थापा रहेका छन् ।
भक्तपुर सरस्वती खेलका वासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ सालमा बा ९७ प १३०५ नम्बरको मोटरसाइकल हराएको थियो । सो मोटरसाइकलको नम्बर परिवर्तन गरेर बा ९५ प ४१६८ भएको अवस्थामा ट्राफिक प्रहरी टोलीले भुजेल र लिम्बुलाई पक्राउ गरेको हो ।
त्यस्तै पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ नम्बरको पल्सरको वास्तविक नम्बर परिवर्तन गरेर बा ९१ प ८६७२ नम्बर प्रयोग गरेको अवस्थामा धनुषाका थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
उपत्यकाको विभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनाहरूलाई न्यूनीकरण गर्न सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ । चोरीमा संलग्न गिरोहलाई विशेष निगरानी गर्न, सूचना संकलन गर्न र त्यस्ता व्यक्तिहरूलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
मोटरसाइकलसहित तीनैजनालाई थप अनुसन्धान एवं कानूनी कारवाहीका लागि प्रहरी वृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।
महाशाखाले गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी इकाइमा पठाएको जनाएको छ । त्यस्तै हराएका ३९७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाको भनाइ छ ।