भारतको उत्तर प्रदेशमा रहेको बुन्देलखण्डमा किसान र मजदूरको पक्षमा रहेको भारतीय कम्युनिस्ट पार्टीको राजनीतिक अस्तित्व समाप्त भएको छ ।
कुनै समयमा सीपीआईले उक्त विशाल क्षेत्रको राजनीतिक आन्दोलनको नेतृत्व गरेको थियो । अहिले त वामपन्थीको राजनीतिक चर्चा पनि मजाकमा उडाउने गरिएको छ । पछिल्लो समयमा नेतृत्वविहीन बनेको दल अस्तित्वको लडाइँमा छ ।
सीपीआईले सामन्त र जमिन्दारहरूविरुद्ध चलाएको आन्दोलनलाई धार दिएको थियो । मुन्शी प्रेमचन्दको अध्यक्षतामा प्रगतिशील लेखक संगठनको गठन पनि गरिएको थियो । गीत र नाटकमार्फत सीपीआईको विचारधारा जनतामाझ गर्ने गरिएको थियो ।
सीपीआईका पूर्व जिल्ला मन्त्री सलाउद्दीनले आइतवार बताएअनुसार, शुरूशुरूमा पार्टीको कार्यक्रममा भाग लिनका लागि कार्यकर्ता ३० किलोमिटर हिँडेर पनि आइपुग्थे । अहिले त रातो झण्डा बोकेर कोही पनि हिँड्न चाहँदैन ।
सीपीआईले बुन्देलखण्डमा लोकसभा चुनाव पनि लड्न छोडेको छ । यसका कार्यकर्ताहरू अरू नै पार्टीमा प्रवेश गरेका छन् ।
समयसँगै आफूलाई परिवर्तन गर्न नसकेकाले सीपीआईको अस्तित्व बुन्देलखण्डबाट हराएको राजनीतिक विश्लेषकहरू बताउँछन् । पार्टीको आन्तरिक राजनीति पनि यसमा जिम्मेवार रहेको उनीहरूको भनाइ छ ।