
नेपाल प्रहरीले २३ लाख ५० हजार रुपैयाँ जरिवाना भएपछि फरार रहेका १ व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्जले २३ लाख ५० हजार रुपैयाँ जरिवाना गरेपछि फरार रहेका बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ का ५६ वर्षीय विनोदकुमार श्रेष्ठलाई सोमवार भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत तुलसीपुर नेपालगञ्जको विक्रम संवत् २०७७ फागुन १२ गतेको फैसलापछि ७ दिन कैद र बिगोबमोजिम १० लाख रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई सोमवार भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठले आफ्नो नबिल बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा–नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमवारै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।