
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २३ वटा मोटरसाइकलहरू फेला सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटाइएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाइकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारीसाधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए । उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अलार्मलगायतका उपकरण जडान गर्न, घर कम्पाउन्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न, एकैछिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए ।
गत आर्थिक वर्षमा मात्रै हराएका ४६० वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको र चोरीमा संलग्न ५७ जनालाई समेत विभिन्न स्थानहरूबाट पक्राउ गरी कारवाहीका लागि प्रहरी वृत्तहरूमा पठाएको समेत महाशाखाले जनाएको छ ।