०५ साउन २०८३, मंगलबार

छानबिन समिति राति डडेल्धुरा बास बसी आज दार्चुला प्रस्थान : गृहमन्त्री खाँण

छानबिन समिति राति डडेल्धुरा बास बसी आज दार्चुला प्रस्थान : गृहमन्त्री खाँण
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयबाट गठित छानबिन समिति सोमवार राति डडेल्धुरा बास बसी दार्चुलाका लागि प्रस्थान गरेको जानकारी दिएका छन् ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा घटनाबारे जानकारी गराउँदै मन्त्री खाँणले भने, ‘साउन १८ गते राति डडेल्धुरा वास बसी आज दार्चुलाको खलंगाका लागि प्रस्थान गरिसक्नुभएको छ ।’

साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ जनाको छानबिन समिति गठन गरिएको र १० दिनमा प्रतिवेदन बुझाउने समयसीमा तोकिएको मन्त्री खाँणले बताए ।

साउन १५ गते बिहान व्यास गाउँपालिका–२ बस्ने जयसिंह धामी तुइन तर्ने क्रममा महाकाली नदीको मालघाटबाट बेपत्ता भएका थिए ।

तत्कालै गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन दार्चुलाबाट सत्यतथ्य सशस्त्र प्रहरी नायव उपरीक्षक वृजसिंह धामी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रम सिंह ढाँटसहित ३ जनाको टोली स्थलगत खटिएको मन्त्री खाँणले बताए ।

त्यतिबेला घटनास्थल वरिपरि रहेर तुइन तरिसकेका र तर्न बाँकी रहेका व्यक्तिसँग बुझ्ने काम भइरहेको उनले बताए । ‘दार्चुलामा सर्वदलीय बैठक भएको छ,’ उनले भने, ‘खोजतलासको काम भइरहेको छ । जयसिंह धामी भेटिएका छैनन् । बैतडी र कञ्चनपुरमा समेत समन्वय भइरहेको छ ।’

बेपत्ता धामीलाई महाकाली नदीको पूर्वी किनारामा नेपाली सुरक्षाकर्मी र पश्चिमी किनारामा एसएसबीले खोजिरहेको मन्त्री खाँणले बताए ।

salt training

कमेन्ट गर्नुहोस्