
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको टाउकोको पछिल्लो भागमा हुलाक टिकट जत्रा ब्यान्डेज देखिएपछि उनको स्वास्थ्यका विषयमा प्रश्न उठेका छन् ।
सरकारी सञ्चारमाध्यमले जारी गरेको तस्वीरमा किम कोरियाली जनसेनाको एक कार्यक्रममा एक साताअघि देखिएका हुन् । चार दिनअघिको तस्वीरमा चाहिँ ब्यान्डेज थिएन तर हरियो दाग जस्तो देखिएको थियो ।
किमको स्वास्थ्यलाई अत्यन्तै गोप्य राख्ने गरिएको छ । तर पछिल्ला तस्वीरहरूमा उनी कुनै रोगबाट ग्रस्त रहेको जस्तो देखिएको छ ।
गत जुन महिनामा किम निकै दुब्लाएको भिडियो सार्वजनिक भएपछि उत्तर कोरियालीहरू रोएका थिए ।
किमले तालुभन्दा मुनिको भागको कपाल खौरिने गरेका छन् । त्यसो हुँदा उनको टाउकोमा भएका दाग स्पष्ट देखिन्छन् ।
तस्वीरहरू सार्वजनिक गरेर उत्तर कोरियाले अन्य देशका गुप्तचर निकायलाई अनुमानको खेतीको अवसर दिएको छ ।