२३ जेठ २०८३, शनिबार

तनहुँ वितरण केन्द्रमा ६ करोड बढी बक्यौता

साउन २१, २०७८
तनहुँ वितरण केन्द्रमा ६ करोड बढी बक्यौता
प्रतिकात्मक तस्वीर

तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म ६ करोड ६ लाख ३९ हजार बक्यौता रहेको छ । 

कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ ।

विगतका वर्षमा सरदर ३ करोड बक्यौता हुने गरे पनि गत आर्थिक वर्षमा २ गुणा बढीले रकम बक्यौता हुन पुगेको कार्यालयका सूचना अधिकारी विष्णुराज लोहनीले जानकारी दिए ।

उनका अनुसार ९३.८ प्रतिशत रकम संकलन गर्न सकिएको छ भने ६.२ प्रतिशत संकलन गर्न नसकिएको हो । नेपाल सरकारले बक्यौता हुने ग्राहकको लाइन काट्न निर्देशन दिए पनि कोभिड–१९ का कारण फिल्डमा जान सक्ने अवस्था नरहेकोले लाइन नकाटिएको उनले बताए ।

तनहुँमा ४० हजार ४८५ विद्युत्का ग्राहक रहेका छन् । ४ करोड ५२ लाख २ हजार ५२८ युनिट विद्युत् बिक्री गर्दा ३९ करोड ७६ लाख ४० हजार ९८४ रुपैयाँ राजस्व संकलन भएको छ ।

सिस्टम व्यवस्थित गर्न सकिए विद्युतको कुनै अभाव नरहेको सो कार्यालयले जनाएको छ । जिल्लामा १०.५४ प्रतिशत विद्युत् चुहावट भएको छ । 

तनहुँमा विद्युत् चोरीका कुनै घटना नभए पनि प्राधिकरणले सिस्टमलाई सुदृढीकरण गर्न सके चुहावटमा कमी ल्याउन सकिने कार्यालय प्रमुख इन्जिनीयर सोवितबहादुर क्षेत्रीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्