
प्रहरी युएन मिसनमा जाने पूर्व छनौट परिक्षा (प्री–स्याट) को प्रश्नपत्र एक लाख रुपैयाँको लोभमा बाहिरिएको खुलेको छ ।
प्रश्नपत्र बाहिर ल्याउन शाहले बमलाई दिएको एक लाख रुपैयाँ मिनाहा गरिदिएको छानविन समितिलाई बयान दिएका छन् ।
साइबर ब्यूरोमा कार्यरत हवल्दार कुमार शाहको योजनामा युएन शाखामा कार्यरत परिचर सुरेश बमलाई प्रयोग गरेको खुलेको हो ।
शाहले दिएको लोभमा परिचर बमले २ दिन अगाडि राती करिब ८ बजे प्रश्नपत्र फोटोकपी गरेर उनलाई दिएका थिए । यसभन्दा अगाडि युएन शाखामा कार्यरत शाहलाई राम्रो काम नगरेको भन्दै सोही शाखाका एक अधिकारीले साइबर ब्यूरोमा सरुवा गरिदिएका थिए ।
शाह त्यो बेलादेखि ती अधिकारीसँग रुष्ट हुँदै आएको बयानका क्रममा उनले समितिलाई बताएका छन् ।
प्रश्नपत्र बाहिरिएको शंका लागेपछि गत शनिवारको एउटा सत्रको परिक्षा डेढ घण्टा ढिलो गरि शुरू भएको थियो । शंका लागेपछि युएन शाखाले अर्को प्रश्नपत्र तयार पारेर परीक्षा सञ्चालन गरेको थियो । तर त्यो भन्दा अघिल्लो दिन लिएको प्रश्नपत्र पनि बाहिरिएको पाइएको छ ।
प्रश्नपत्र बाहिरिएपछि सत्यतथ्य छानविन गर्न मंगलवार प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्त लामाको नेतृत्वमा एसएसपी, एसपी, डीएसपी र इन्स्पेक्टरसहितको ६ जनाको टोली बनाएको थियो ।
छानबिन समितिले प्रश्नपत्र बाहिर ल्याउने सहित क–कसले त्यो प्रश्नपत्र पाए भन्ने कुरा निर्क्यौल गरिसकेको र प्रश्नपत्र बाहिर ल्याउने र पाउने सबैलाई कारवाहीको दायरामा ल्याउन लागको छ ।
‘हामीले कागजात खोज्ने र कसले बाहिर ल्याएको भन्ने लगभग निर्क्यौल गरिसक्यौँ बयान चलिरहेको छ । दोषी जो कोही भएपनि प्रहरी नियमावलीमा भएको व्यवस्था अनुसार हदैसम्मको कारवाही सिफारिस गर्छौँ,’ छानविन समितिका एक सदस्यले लोकान्तरसँग भने ।
उनका अनुसार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीएसपी खड्कासहित २५ जना प्रहरीहरु प्रकरणमा जोडिएको देखिएको छ । त्यसमा प्रश्नपत्र बाहिर ल्याउनेदेखि फोटोकपी गरेर घरघरसम्म पुर्याउने भाइबर र ह्वाट्स एपमार्फत आफन्तको पुर्याउनेसम्म रहेका छन् ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रवक्ता एसएसपी बसन्त कुँवरले दोषी जो कोही भएपनि नियमअनुसार कारवाही गरिने बताए ।
‘आन्तरिक परिक्षा भएपनि आगामी दिनमा यस्ता खालका गतिविधि गर्न कसैको पनि आँट नहोस् त्यसैले छानविन समिति बनेको हो । समितिको निष्कर्ष पछि कारवाही हुनेछ,’ एसएसपी कुँवरले लोकान्तरसँग भने ।
के हो पूर्व छनौट परीक्षा?
युनाइटेड मिसनमा सुपरिवेक्षणको रुपमा जानको लागि लिइएको प्रहरीको आन्तरिक परीक्षा हो । उदारहणको लागी लिने हो भने एसईई परीक्षाको सेन्टप परीक्षाको रुपमा यसलाई लिइन्छ ।
युएन मिसनमा जानको लागी सवारी चालक अनुमतिपत्र अनिवार्य, प्रहरी सेवामा प्रवेश गरेको ७ समय अवधि भएको, अङ्ग्रेजीमा दख्खल राख्ने प्रहरी परिचर देखि एसएसपीसम्मका प्रहरी कर्मचारीहरु जना पाउँछन् ।
त्यसको छनौटको लागि युएनबाट खटिएको टोली आउँछ जसले प्रहरी प्रधान कार्यालय युएन शाखाको सहयोगमा परिक्षा लिन्छ । त्यो परीक्षामा कम्तीमा डेढ/दुई सयको हाराहारीमा जान पाउँछन् ।
त्यसको प्रहरीले सर्ट लिष्ट गर्नको पूर्व छनौट परिक्षा लिन्छ जसबाट ३/४ सयको हाराहारीमा मेरिटको आधारमा छनौट गर्छ र तीनैले युएनका कर्मचारी आएको समय परीक्षा दिन पाउँछन् ।
‘यो मिसन जाने परिक्षा होइन तर ठूलो संख्याबाट योग्य र सर्ट लिष्ट गर्नको लागि आन्तरिक रुपमा लिइने परिक्षा हो,’ प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले भने ।