
तेह्रथुमको एक स्थानीय तहले गाउँपालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा कार्यालय नै बन्द गरेको छ ।
तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्ष गीता गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्यु भएपछि शोक बिदा दिएको हो ।
कृष्णप्रसादको बिहीवार राति ११ः४० बजे घरमै निधन भएको थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु पोख्रेलद्वारा हस्ताक्षर गरिएको सूचनामा गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू एवम् गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू (स्वास्थ्य संस्थाबाहेक) मा शोक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
आपतकालीन अवस्थामा मौखिक निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु पोख्रेलले बताए ।
यता गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले भने उपाध्यक्षको घरसमेत गाउँपालिका नजिकै भएकाले मलामी जानका लागि बिदा दिएको जनाएका छन् । प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जी भने केही दिनदेखि बिदामा छन् ।