
सिन्धुलीको तीनपाटन गाउँपालिकाले प्रशासनिक भवन निर्माणमा उठेका विषयहरूमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अनुसार ठेकेदार कम्पनी एएम पाइनस जेभिसँग २०७६ माघ ९ गते ४ करोड ८२ लाख ८ हजार २६० रुपैयाँ ५० पैसामा २०७९ साल असार २५ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।
उक्त भवन निर्माणको क्रममा ड्रइङ डिजाइनमा उल्लेख भएको तर लागत इष्टिमेटमा आरसीसी ढलान, पिल्लर, फर्मा, डण्डीलगायतको परिमाणमा कमी भएकाले गाउँपालिकाले भेरियसन गरेको थियो ।
गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७७ को नियम १२७ (१) बामोजिम कुल लागतको १५ प्रतिशत गाउँपालिका अध्यक्षले भेरियसन आदेश स्वीकृत गर्ने प्रावधानअनुसार नै स्वीकृत गरिएको अध्यक्ष कर्णबहादुर मगरले जानकारी दिए ।
‘गाउँकार्यपालिकाले सर्वसम्मत रुपमा पास गरेको सोही नियमावलीको प्रावधान अनुसार गाउँसभाबाट निर्णय गरी प्राविधिक नापजाँच तथा मूल्यांकनका आधारमा गत वर्षको चैत ४ गते ७१ लाख ५१ हजार १८७ रुपैयाँ भेरियस आदेश स्वीकृत गरिएको हो,’ उनले भने ।
नियमावलीमा रहेको प्रावधानअनुसार भेरियसन रकमसमेत स्वीकृत गरी हालसम्म गाउँपालिका भवनको जम्मा लागत ५ करोड ५३ लाख ५९ हजार ४४७ रूपैयाँ हुन आएको गाउँपालिकाले जनाएको छ ।
हालसम्म संघीय समपूरक कोष तथा गाउँपालिकाको स्वीकृत बजेटबाट कार्यसम्पादन मूल्यांकन बमोजिम ३ करोड २३ लाख ९९ हजार १४२ भुक्तानी भएको अध्यक्ष मगरले बताए ।
‘चालु आर्थिक वर्षको लागि संघीय सरकारबाट ६९ लाख रूपैयाँ बजेट प्राप्त भएको छ,’ मगरले भने, ‘२०७९ असार २५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने भएकाले नपुग एक करोड ६० लाख ६० हजार रूपैयाँ गाउँपालिकाले विनियोजन गर्नुपर्ने प्रस्ताव गाउँकार्यपालिकामा रहेको विषयमा अनावश्यक हल्ला फैलाइएको छ ।’
ठेकेदार कम्पनीले घाटा लाग्यो भन्दै पैसा मागेकोलगायका विषयमा कुनै तथ्यता नभएको भन्दै भ्रममा नपर्न गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।