०२ असार २०८३, मंगलबार

साझा कार्यक्रम बनेपछि अब मन्त्रिपरिषद् विस्तार

साउन २३, २०७८
साझा कार्यक्रम बनेपछि अब मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी मस्यौदा प्रतिवेदन आवश्यक अध्ययनपछि अविलम्ब कार्यान्वयनमा ल्याउने बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको मस्यौदा प्रतिवेदन शुक्रवार बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारमा सहभागी पार्टीका शीर्ष नेताहरूले मस्यौदा प्रतिवेदनको अध्ययन गरी आवश्यक सुधार तथा थपघट गर्नुपर्ने भएमा हुन्छ, त्यसपछि यसलाई सार्वजनिक गरी अविलम्ब कार्यान्वयनमा ल्याइने छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझ्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरू प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपस्थित थिए ।

कार्यक्रममा कार्यदल संयोजक खड्काले गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रमसम्बन्धी मस्यौदा प्रतिवेदन तयार पारी शीर्ष नेताहरूलाई बुझाइसकेकाले आवश्यक अध्ययनपछि यसको तत्काल कार्यान्वयनमा जोड दिए । संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकताहरू, नीति तथा कार्यक्रमहरू, राष्ट्रिय हितको संवद्र्धन, संघीयता कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन, सदाचार शान्ति प्रक्रियालाई पूर्णता र आर्थिक नीति तथा कार्यक्रमहरू समेटिएका छन् ।

मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण, विपत्मा परेकाहरूलाई तत्काल राहत, पुनः निर्माण र पुनः स्थापना, पर्यावरण सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध (परराष्ट्र नीति) लाई पनि मस्यौदा प्रतिवेदनमा समेटिएको कार्यदल संयोजक खड्काले बताए ।

मस्यौदा प्रतिवेदनमा कार्यदलले कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनका नाममा स्वास्थ्य सामग्री खरिदमा अघिल्लो सरकारले गरेको आर्थिक अनियमितताको छानबिन गर्न र दोषीलाई कानूनी कारबाही गर्न सुझाव दिएको छ ।

संवैधानिक व्यवस्था तथा संसदीय अभ्यासविपरीत संवैधानिक आयोग, कूूटनीतिक नियोग र सरकारी निकायहरूमा भएको नियुक्ति प्रक्रियामाथि कानूनी प्रश्न उठाइएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तत्कालीन सरकारले गरेका नियुक्तिसम्बन्धी निर्णय सच्याउन प्रतिवेदनले सुझाव दिएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी रहेका सम्पूर्ण कामलाई यथाशीघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग ऐन संशोधन गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख छ । राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने, विभिन्न प्रतिवेदन सार्वजनिक गर्न, मधेश आन्दोलनको समयमा लगाइएका मुद्दाहरू पुनरवलोकन गरी अन्यायपूर्वक ढंगले बन्दी बनाइएकालाई रिहाइ गर्नुपर्ने कार्यदलको सुझाव छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र नेकपा एमाले नेपाल–खनाल समूह गरी ५ वटा दलको संयुक्त गठबन्धनको न्यूनतम साझा कार्यक्रमहरू टुंगो लाग्नेवित्तिकै मन्त्रिपरिषद् विस्तार हुने नेताहरूको भनाइ छ ।

संयुक्त सरकारमा कांग्रेस, माओवादी केन्द्र सहभागी छ भने जसपा सहभागी हुने तयारीमा छ । जनमोर्चा तत्काल सरकारमा नजाने बताएको छ । सरकारमा कांग्रेसबाट प्रधानमन्त्री, २ मन्त्री र १ राज्यमन्त्री तथा माओवादी केन्द्रबाट २ मन्त्री सहभागी छन् ।

न्यूनतम साझा कार्यक्रमसम्बन्धी प्रतिवेदन कार्यदलमा कांग्रेसबाट महामन्त्री खड्कासहित डा. मीनेन्द्र रिजाल र रमेश लेखक, अधिवक्ता केशव अधिकारी, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट महेन्द्र राय र राजेन्द्र श्रेष्ठ सहभागी थिए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्