
तनहुँको व्यास नगरपालिकाले आवश्यक देखिएका ४ वटा कार्यविधि पारित गरेको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगर कार्यपालिकाको नियमित बैठकले ४ कार्यविधि पारित गरेको कार्यालयका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।
व्यास नगर समता आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका कोभिड व्यवस्थापन अस्पताल सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७८ र व्यास नगर कृषि उपकरण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७८ पारित गरेको हो ।
व्यास नगरपालिकाअन्तर्गत अत्यावश्यक ४ विषयमा तत्काल बोलपत्र आह्वान प्रक्रिया अघि बढाउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय गरेको छ । २५ लाख रुपैयाँभित्र रहने गरी विपद् व्यवस्थापनअन्तर्गत तार जाली खरिद गर्ने, व्यास नगर कोभिड व्यवस्थापनका लागि २५ शय्याको अस्पताल भवन निर्माण गर्ने निर्णय भएको सूचना अधिकृत पण्डितले बताए ।
व्यास नगरपालिकाअन्तर्गत बहुउद्देश्यीय भवन र दक्षिण पूर्वतर्फ रहेको आरसिसी भवनको छतमा कार्यालय व्यवस्थापनका लागि ट्रस निर्माण, कृषि एम्बुलेन्स सञ्चालनका लागि गाडी खरिद गर्ने निर्णय गरेको छ । व्यास नगरपालिकाअन्तर्गत नगरसभाबाट पारित संगठन व्यवस्थापन संरचनामा विशेष नगरसभाबाट अनुमोदन गर्ने गरी संशोधन गरी हाल ७ शाखा रहेकोमा ९ शाखा कायम गर्ने निर्णय गरेको छ ।