
मकवानपुरमा गत आर्थिक वर्ष २०७७/७८ मा ११ हजार १३ जनाले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जसमध्ये ५ हजार ७७ पुरुष तथा ५ हजार ९३६ महिला छन् ।
अघिल्लो आव २०७६/७७ को तुलनामा २०७७/७८ मा ४ हजारभन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेको बताइएको छ ।
अघिल्लो आवमा ७ हजार ९१८ जनाले वंशजको आधारमा नागरिकता प्राप्त गरेका थिए । कार्यालयले गत आवमा ९ हजार ४०० जनालाई प्रतिलिपि नागरिकता जारी गरेको थियो ।
कार्यालयबाट गत आवमा ५ जनालाई वैवाहिक अंगीकृत नागरिकता र अघिल्लो आवमा ९ जनाले अंगीकृत वैवाहिक नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । सो अवधिमा कार्यालयबाट १०८ नाबालक परिचयपत्र जारी भएको थियो ।
कार्यालयमा विगत ३ वर्षको अवधिमा राहदानी लिनेको संख्यामा कमी आएको छ । गत आव २०७७/७८ मा राहदानी बनाउने साधारणतर्फ ३ हजार ७८० तथा द्रूत सिफारिसतर्फ १ हजार ९३१ रहेको जनाएको छ ।
राहदानी बनाउन दिएकामध्ये २ हजार २०९ जनालाई राहदानी वितरण भएको छ । १ हजार २५६ राहदानी वितरण गर्न बाँकी रहेको छ ।