०२ साउन २०८३, शनिबार

नेपालमा तय भएको एएफसी महिला एसियन कपको छनोट खेल उज्वेकिस्तानमा

नेपालमा तय भएको एएफसी महिला एसियन कपको छनोट खेल उज्वेकिस्तानमा
अभ्यास गरिरहेका खेलाडीहरू । तस्वीरः एन्फा

नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत समूह ‘एफ’को खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव ईन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने जानकारी दिएका हुन् । 

एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको महासविच तुलाधरले बताए । 

यसअघि जारी गरेको तालिकाअनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स छन् ।

छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा छ । 

एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बंगलादेशलगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । 

समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन शहरमा हुँदैछ । त्यसका लागि भारतले आयोजनास्थलको पनि टुंगो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्