
प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई संगठनको कमाण्ड हस्तान्तरण गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा सोमवार आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गरेका हुन् ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मंगलवारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेका छन् । सेनाको परम्पराअनुरूप प्रधानसेनापति थापा आफ्नो ३ वर्षे कार्यकाल सकिनु १ महिनाअघि अर्थात् मंगलवारदेखि घरबिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो ।
कायममुकायम जिम्मेवारी तोकिएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औं प्रधानसेनापतिका रूपमा सैनिक नेतृत्व सम्हाल्नेछन् । स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्मा भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।
सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन् ।
आफ्नो ३७ वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी अड्डास्थित सैनिक सचिव, भर्ना छनोट निर्देशक, नीति तथा योजना निर्देशक, सह–बलाध्यक्ष, संभाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका कायममुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको हरेक जिम्मेवारीबारे नजिकबाट अनुभव र ज्ञान छ ।
संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्ने अवसर प्राप्त गरेका शर्मा भारतमा सम्पन्न भएको नेपाल–भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका थिए ।
बंगलादेशमा सैनिक सहचारीको कार्यभार उदाहरणीयरूपमा सम्हालिसकेका कारण उनको कार्यकालमा सेनाको सैनिक कूटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका कारण शर्माले नेपालको मात्र नभएर विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययन समेत गरेका छन् ।
सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमताका लागि परिचित रथी शर्माको मुख्य प्राथमिकता कोभिड–१९ का कारण प्रभावित तालिमलाई सञ्चालन बनाई सेनाको अपरेसनल क्षमतालाई अभिवृद्धि गर्नु रहेको छ ।
भर्खरै लागू भएको सेनाको तीन जोड एक अवधारणा अनुसारको पुनःसंरचनालाई व्यवस्थित ढंगले कार्यान्वयनमा ल्याउनु पनि उनको प्रमुख कार्यभर रहनेछ । पूर्व प्रधानसेनापतिले शुरू गरेका असल कार्यक्रमको प्रभावकारिताको मूल्यांकन गर्दै निरन्तरता दिने र संस्थागत गर्न पनि उनले ध्यान केन्द्रित गर्नेछन् ।
संगठनभित्र सकल दर्जामा हौसला अभिवृद्धि र सैनिक परिवारको कल्याण कार्य पनि कायममुकायम प्रधानसेनापति शर्माका प्राथमिकताका क्षेत्र हुन् । – नारायण न्यौपाने/रासस