०२ असार २०८३, मंगलबार

नगरवासीको मृत्यु हुँदा ५ हजार सहयोग बोकेर घरमै पुग्छन् जनप्रतिनिधि

साउन २६, २०७८
नगरवासीको मृत्यु हुँदा ५ हजार सहयोग बोकेर घरमै पुग्छन् जनप्रतिनिधि

चुनावको समयमा घरखेतसम्मै पुगेर मतदातालाई भेटेका जनप्रतिनिधि चुनाव जितेपछि जनताको घरदैलोमा नपुगेको गुनासो सुनिन्छ । तर मोरङको बेलबारी नगरपालिकाका जनप्रतिनिधि दुःखका बेला मतदाताको घरदैलोमै पुग्ने गरेका छन् ।

नगरवासीको मृत्यु हुँदा कसैलाई नछुटाई बेलबारीका जनप्रतिनिधि घरदैलोमा पुग्छन् । जनप्रतिनिधिले मृतकको घरमा पुग्ने कार्यक्रम नै बनाएर मृतकका परिवारलाई सान्त्वता दिने गरेका छन् ।

‘दुःखमा नगरपालिका कार्यक्रम’ नाम दिएर मेयर, वडाध्यक्ष लगायतका जनप्रतिनिधि मृतक परिवारको घरमा जाने गरेका छन् । जनप्रतिनिधिले नगर सभाबाट नै कार्यक्रम पास गरेका छन् ।

नगद ५ हजार रुपैयाँ र समवेदनापत्र लिएर जाने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ‘हामीले गरेको ठूलो सहयोग होइन,’ नगर प्रमुख सुवेदीले भने, ‘गरीब तथा विपन्न परिवारका लागि केही राहत मिल्छ । पहिला हामी व्यक्तिगत तरिकाले जान्थ्यौं । अहिले कार्यक्रम नै बनाएर जान थालेका हौं ।’

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका लागि राहत मिलेको स्थानीयको भनाइ छ । ‘खर्च अभाव भएको भन्दै धर्मसंस्कार अनुसार कर्म गर्न ऋण खोजेको देखिन्छ,’ पण्डित भोला नेपालले भने, ‘नगरपालिकाको कार्यक्रमले केही राहत मिलेको छ ।’

घरआँगनको सरकारको नाताले दुःखपीडामा परेका सबै नागरिकलाई भेट्ने गरिएको नगर प्रमुख सुवेदीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्