
काठमाडौं, २९ जेठ - सन् २०१७ मा तीब्र आर्थिक विकास गर्ने देशहरुको सूचीमा नेपाल तेस्रो स्थानमा परेको छ । इथियोपिया र उज्वेकिस्तान पछि नेपाल रहेको छ । वल्र्ड इकोनोमिक फोरमले गरेको प्रक्षेपण अनुसार नेपालले सन् २०१७ मा उल्लेख्य आर्थिक बृद्धि गरेको छ ।
विश्व बैंकका तथ्यांकहरुलाई आधार मानेर गरिको उक्त प्रक्षेपण अनुसार सन् २०१७ मा इथियोपियाले ८ दशमलव ३ प्रतिशत र उज्वेकिस्तानले ७ दशमलव ६ प्रतिशत वृद्धिदर गर्ने अनुमान इकोनमिक फोरमले गरेको छ । नेपालले ७ दशमलव ६ प्रतिशत आर्थिक बृद्धि गर्ने प्रक्षेपण उसले गरेको छ ।
केही वर्ष अघि सम्म भोकमारी र युद्धबाट पिल्सीएको इथियोपियाले सन् २०२५ सम्म आफूलाई मध्यम आय भएको देशमा लैजाने उदेश्य राखेको छ । उक्त देशले अहिले पूर्वाधारका क्षेत्रमा ठूलो लगानी गरिरहेको छ ।
उज्वेकिस्तानले चाहिँ सेवा क्षेत्रमा आफ्नो लगानीलाई प्राथमिकता दिएको छ ।
तेस्रो स्थानमा रहेको नेपालले भूकम्प पछिको पुर्ननिर्माण र स्थानीय निर्वाचनका कारण आफ्नो बृद्धिदर बढाएको हो । २३ वर्ष पछि पहिलो पटक नेपालको आर्थिक बृद्धिदर यति ठूलो मात्रामा बढ्न लागेको हो । अघिल्लो वर्ष नेपालको आर्थिक बृद्धिदर एक प्रतिशत पनि थिएन् ।
नेपाल पछि भारतको आर्थिक बृद्धिदर रहेको छ । भारतले ७ प्रतिशतको हाराहारीमा बृद्धि गर्ने इकोनमिक फोरमले जनाएको छ । तीब्र आर्थिक बृद्धिदर भएका देशको सूचीमा सानो अर्थतन्त्र भएका देशहरु छन् । तर भारत मात्रै ठूलो बजेट भएको देश हो ।
दक्षिण एशियाका बंगलादेश र भुटानले पनि झण्डै ७ प्रतिशत आर्थिक बृद्धिदर बनाउने प्रक्षेपण गरिएको छ ।