
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन बस्न लागेको हो ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार सभामा वीरेन्द्रकुमार कानोडीयाले वक्तव्यसहित अविश्वासको प्रस्ताव पेश गर्नेछन् । सो प्रस्तावमाथि छलफल भएपछि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिने कार्यसूची छ ।
यस्तै कानोडीयाले अविश्वासको प्रस्ताव फिर्चा लिन चाहेमा समय दिने र फिर्ता नलिएमा मत विभाजनद्वारा अविश्वासको प्रस्तावलाइ निर्णयार्थ बैठकमा प्रस्तुत गरी मत विभाजनको परिणाम सभामुखले घोषणा गर्ने कार्यसूची बनाइएको छ ।
विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए ।