
नेकपा (एमाले) स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा स्कुल विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरमा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्न थालिएको हो ।
विभागका सचिव ईश्वरी रिजालले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय सङ्गठन, सांसदलाई नियमित कक्षा सञ्चालन गर्ने जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष ओलीले नेपालमा आजको माक्र्सवाद भनेकै जबज रहेको बताए ।
उनले जबजमा नै राजनीतिक मार्गदर्शन मात्र नभई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्ने मार्गदर्शनसमेत स्पष्ट रहेको भन्दै जबजकै आधारित भएर हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई अगाडि बढाएको बताए ।
अध्यक्ष ओलीले जबजले नेपाली कम्युनिष्ट आन्दोललाई मात्र होइन सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनलाई मार्गदर्शन गर्नेसमेत बताए।
साथै बैठकले स्कुल विभागका सदस्य एवं विज्ञ प्रशिक्षकको विषयगत सूची तयार पार्न वैठकले विभागका सचिव रिजाल र सदस्य घनश्याम कोइरालालाई जिम्मेवारी प्रदान गरेको छ ।