
कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ ।
कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारी किन्न नसक्ने गरी मूल्य बढेको हो ।
कोरोनाका कारण गत वैशाखबाट बन्द भएका हाटबजार सञ्चालनमा आउन सकेको छैन । ‘यो मौसममा स्थानीय तरकारी उत्पादनमा समेत कमी आउँछ, अझ हाटबजार बन्द भएकाले साना किसानको उत्पादनले बजार पाएन,’ किसान शम्भु चौधरीले भने, ‘यसको असर तरकारीको मूल्यमा परेको छ । बाहिर जिल्लाबाट आएको तरकारी छोइनसक्नु छ । गोलभेंडा, करेला, सिमी, बोडी लगायतका तरकारीको मूल्य प्रतिकेजी १०० रुपैयाँभन्दा माथि छ ।’
स्थानीय तरकारी उत्पादनमा कमी हुँदा बजार मूल्य धेरै तिर्नुपर्छ । सिजनल समयमा धेरै किसान तरकारी उत्पादनमा सहभागी हुन्छन् । यो समयमा धेरैले धानखेती गर्छन्, अझ उत्पादन भएको तरकारी समेत बजारमा आउन पाएको छैन ।
‘साना किसानले उत्पादन गरेको तरकारी हाटबजारमा बिक्री हुन्थ्यो, तरकारी बिक्रेताकहाँ लैजाँदा मूल्य पाइँदैन,’ अर्का किसान रमेश धामी भन्छन्, ‘मूल्य नपाइने भएपछि हामीले बिक्री भएजति तरकारी गाउँमै बिक्री गर्छौं, बाँकी बारीमै सड्छ । बजारका बिक्रेताले हामीसँग किनेको तेब्बर मूल्यमा बेच्छन्, हामी घाटामा हुन्छौं ।’
वैशाखमा लकडाउन भयो । लकडाउनका समयमा बारीमा उत्पादन भएको तरकारी बजार नपाएर किसानले बारीमै नष्ट गरे । ‘काक्रा, लौका, भिन्डी, बोरी, हरियो खुर्सानी लगायतका तरकारीले बजार नपाएर बारीमै नष्ट गर्यौं, अब त तरकारी खेतीप्रति रुचि घटेको छ,’ उनले भने, ‘उत्पादनले बजार नपाउँदा किसानलाई घाटा मात्र होइन उत्साहपछि घट्छ ।’ – दुर्गा देवकोटा/रासस