३२ असार २०८३, बिहीबार
संसदमा जुहारी

मात्रिकाले ओलीको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग

मात्रिकाले ओलीको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग

नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि संसद्मा एमालेले नियमापत्ति जनाएको छ । 

यादवले प्रतिनिधि सभा पुनःस्थापना र वर्तमान सरकारलाई परमादेश परमादेश भन्नेको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गरेका थिए । 

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा यादवले नेकपा छँदै ओलीको शारीरिक र मानसिक स्वास्थ्यका बारे आफूले स्थायी कमिटी बैठकमै कुरा उठाएको बताएका हुन् ।

‘यो परमादेश भयो, परमादेशको सरकार भन्ने पूर्व प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर चुनाव लडेर आउन सुझाव दिन्छु । यो सरकाले ६ महिनामा चुनाव गराइदिन्छ । जसलाई परमादेशले आएको लागेको छ राजीनामा दिए हुन्छ । परमादेश भन्ने जनादेशको अपमान गर्ने ?’ यादवले भने, ‘जे मन लाग्यो त्यही बोल्ने सदनमा आएर ? अपमान गर्ने ?’

यादवले अस्वस्थ व्यक्तिलाई मुलुक जिम्मा लगाउँदा दुर्घटना भएको टिप्पणी गरे । ‘एउटै पार्टी हुँदा अध्यक्ष प्रचण्डलाई भेनेको थिएँ, मैले स्थायी कमिटीको बैठकमै भनेको थिएँ– उहाँ मेन्टल्ली पनि, फिजिकल्ली पनि ठीक हुनुहुन्न, उहाँलाई जिम्मेवारीको भारी किन बोकाउनुहुन्छ ? जहाज उडाउँदा त पाइलटको स्वास्थ्य चेक हुन्छ, देशकै जहाज उडाउन दिएपछि दुर्घटना हुँदैन ? अहिले कहाँ पुगिरहेको छ ?’ यादवले भने । 

यादवले हुटिट्याउँले आकाश थामेजस्तै लोकतान्त्रिक गणतन्त्र आफैँले थामेको भ्रम नपाल्न ओलीलाई सुझाव दिए । 

‘एउटै टेपमा बोलेजस्तै सबैले परमादेश परमादेश भनेको छ, जसको मेन्टल्ली बिग्रेको छ, त्यसले परमादेश भन्छ, सबैले भन्दैन,’ यादवले भने ।  

यादवले बोलिरहेको समयमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति गरेका थिए । 

बैठकको अध्यक्षता गरेका एमाले सांसद घनश्याम खतिवडाले यादव बोलेपछि समय दिन्छु भन्दै भट्टराईलाई रोके । 

यादव बोलेलगत्तै भट्टराईले यादवको अभिव्यक्ति अमर्यादित रहेको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे । 

उनले व्यक्तिको मानसिक स्वास्थ्यको कुरा उठाउने विषय एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने बताए ।  

‘भर्खरै बोल्ने माननीयले व्यक्तिप्रति इंगित गरेर मानसिकता खराब भएको, मेन्टल्ली डिसअर्डर भएको भन्ने कुरा बारम्बार उच्चारण गर्नुभयो, त्यो भन्ने अधिकार उहाँलाई कहाँबाट प्राप्त भयो ? के तथ्य र प्रमाणको आधारमा यो कुरा गर्नुभयो ?’ भट्टराईले भने, ‘जनताको सार्वभौमसत्ता प्रयोग हुने मर्यादित ठाउँमा यस खालका अमर्यादित अभिव्यक्ति आपत्तिजनक छन् । यो संसद्को रेकर्डबाट हटाइयोस् । अन्यथा एमालेले यो कुरालाई कुनै हालतमा सहँदैन ।’ 

भट्टराईको नियमापत्तिबारे बैठकको अध्यक्षता गरिरहेका खतिवडाले ध्यानाकर्षण भएको बताए । 

कुनै व्यक्तिको स्वास्थ्यलाई लिएर संसद्मा यस्ता शब्द बोल्न नपाइने नियमावलीको व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्