![लुम्बिनीमा मुख्यमन्त्री केसीले बनाए ७ सदस्यीय मन्त्रिमण्डल [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/235392411_801333863874867_5574694390498332251_n_NC1yohPg3g.jpg)
मुख्यमन्त्री कूलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल गठन गरेका छन् ।
केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि ६ जना मन्त्रीले शपथ लिएका छन् ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपालका ६ जना मन्त्री बनेका छन् । जसपाका ३ जना सांसदमध्ये ३ जना नै मन्त्री बनेका छन् ।
नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, नेकपा माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जसपाका सहसराम यादव भौतिक विकास तथा पूर्वाधार मन्त्री भएका छन् ।
जसपाका पुर्मती ढेंगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाहीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । शाही सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थिए ।
रायमाझी शंकर पोखरेल नेतृत्वको सरकारमा विना विभागीय मन्त्री थिइन् । गठबन्धनले १० सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति गरेको छ । बाँकी मन्त्री केही दिनपछि बनाउने गठबन्धनको तयारी छ ।
प्रदेश प्रमुख कार्यालयमा बिहीवार दिउँसोसम्म मुख्यमन्त्री पदमा केसीको मात्रै दाबी परेको थियो ।
संविधानको धारा १६८(२) अनुसार प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबी अनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
