
मृत्युदर्ता भएको ६ वर्षपछि मोरङ बेलबारीका सुभाष तामाङले नागरिकता पाएका छन् । उनको नाम सरकारी अभिलेखमा मृतकको विवरण थियो ।
भोजपुरको षडानन्द नगरपालिका–२ पुर्ख्यौली घर भएका तामाङ २०७१ सालमा साउदी अरबको एक कम्पनीमा रोजगारीका लागि गएका थिए ।
२०७२ असार २४ गते दुर्घटना भएपछि तामाङको मृत्यु भएको भन्दै कम्पनीले अर्कैको शव पठाएको थियो । परिवारले दाहसंस्कार गरेर २०७२ साउन ६ गते षडानन्द नगरपालिका–२ मृत्युदर्ता गराएको थियो ।
मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बसाइँ सरेका तामाङ आफ्नो मृत्यु दर्ता खारेज गरिदिन माग गर्दै जिल्ला प्रशासनदेखि वडा कार्यालयसम्म धाएका थिए ।
‘नागरिकता पाएपछि पुनर्जीवन पाएको महसुस भएको छ,’ नागरिकता पाएपछि उनले भने ।
मृत्युदर्ता भएपछि आफू जीवितै छु भनेर सरकारी अड्डा धाएका सुभाषलाई किन यत्तिका वर्ष लाग्यो त ?
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला भन्छन्, ‘पीडित व्यक्ति समस्या लिएर सम्बन्धित ठाउँमा नआएका कारण ढिलो भएको हो ।
‘६ महिनाअघि आउनु भएको थियो, त्यसपछि हराउनु भयो,’ उनले भने, ‘मैले नै जनप्रतिनिधिलाई खोजेर ल्याउन भनेको हुँ ।’
के हो घटना ?
मोरङ बेलबारी–११, लक्ष्मीमार्गका सुभाष २०७१ सालमा परिवारमा खुशी ल्याउने सपना बोकेर साउदी हानिए । उनी हुन्डाइ कम्पनीमा काम गर्ने सम्झौतामा विदेश गएका थिए ।
काम गरेबापतको तलब बैंकमा आउने भएकाले आफू बसेको ठाउँबाट अलि टाढा जानु पर्थ्यो । बैंकबाट रकम झिकेर फर्कने क्रममा २०७२ असार २४ मा उनी चढेको गाडी दुर्घटना भयो । दुर्घटनापछि सुभाषको मृत्यु भएको भन्दै परिवारलाई जानकारी गराइयो ।
साउदीमै रहेका सुभाषका आफन्तले शव नेपाल पठाउन पहल गरे । १५ दिन नबित्दै शव त्रिभुवन विमानस्थल काठमाडौं आइपुग्यो ।
श्रीमती सन्तोषी र बुबा हर्कबहादुरले शव ल्याएर आफ्नो रीतिरिवाजअनुसार बेलबारीमा दाहसंस्कार गरे । पैसा कमाएर सुखको जिन्दगी काट्ने सपना बोकेर विदेश गएका सुभाषको मृत्युको खबर आएपछि परिवार शोकमा डुब्यो ।
सुभाष दुर्घटनामा परेको केही महिनापछि श्रीमतीलाई सुभाषका साथीहरूले फोन गरे । विदेशको नम्बरबाट फोन आउँदा सन्तोषीको मन झस्कियो ।
पहिलो आवाज सुन्दा उनले फिल्मको कथा जस्तै महसुस गरिन् रे । उनलाई पहिलो फोनमै ‘भाउजू सुभाष दाइ जिउँदै हुनुहुँदो रहेछ अस्पतालमा उपचार हुँदैछ,’ भनेर फोनमा भनिएको थियो ।
सुभाषकी श्रीमती सन्तोषीले भनिन्, ‘खबर सुनेर अनुहारमा केही छिन हाँसो त थपियो तर, दाहसंस्कार गरेको शव कसको थियो भन्ने चिन्ता भयो ।’
सुभाष भनेर दाहसंस्कार गरेका व्यक्ति भने बागलुङका टेकेन्द्र भण्डारी थिए ।
एउटै कम्पनीमा काम गर्ने चार जना तथा ट्याक्सी ड्राइभर एक जना गरी पाँच जना गाडीमा गएका थिए । ‘रातको करीब १ बजेको थियो होला हामी कोठातिर आउँदै थियौँ,’ सुभाषले भने, ‘बाटोमा गाडी दुर्घटनामा परेछ मेरो होस आउँदा म अस्पतालमा थिएँ । हामी पाँच जना गाडीमा गएकोमा म मात्रै बाँचेछु । म ६ महिना अस्पतालमा बसेपछि ठीक भएर कम्पनीमा गएर काम गरेँ ।’
आफन्तले उनलाई घरमा आउन हुँदैन भनेका थिए । उनको काजकिरिया गरिसकेकाले पुनर्जन्मको प्रक्रिया गर्नुपर्थ्यो । ‘मलाई आफन्तले तँ घरमा आउनु हुँदैन भनेकाले मेरो जन्मथलो भोजपुरको कुदाककाउले हाल षडानन्द नगरपालिकामा गएँ,’ उनले भने, ‘त्यहाँ जाँदा मलाई घरमा पस्न दिइएन । गाई बाँध्ने ग्वालीमा भकारीले बेरेर राखेको रहेछ । म गएर भकारीले बेरेर राखेको ठाउँमा पसेँ ।’
केही छिनमा उनकी आमा आएर ‘ऐया-ऐया’ भन्दै कराइन् । ‘म छक्क परेँ । मुनिबाट बुबाले के-के भो भनेर कराउनु भयो । म झन आत्तिएँ । केही छिनमै आमाले छोरो जन्मियो भनेर भन्नुभयो र नुहाइदिनुभयो ।’
उनका बुबाले त्यसपछि मात्रै आफूलाई हेरेको उनले बताए । ‘काजकिरिया सकेको मान्छे आउँदा पुनर्जन्म भएको भनेर कर्म गर्नुपर्दाे रहेछ,’ उनले भने, ‘संस्कार अनुसार मलाई पनि त्यसै गरियो ।’
सुभाषका एक छोरा, एक छोरी र श्रीमती छन् । अहिले उनी सफारी चलाउने गर्छन् ।