
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गते हुने भएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका टुंगो लगाएको हो ।
वडा अधिवेशन भने भदौ १८ गते गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ । यस्तै भदौ २७ मा गाउँ, नगरपालिका अधिवेशन हुनेछ ।
प्रदेश सभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरू असोज १० गते हुने भएका छन् ।
प्रदेश अधिवेशन कात्तिक १० र १२ गते गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना हुने भएको छ ।
सभापति शेरबहादुर देउवा निवासमा साउन २८ गतेबाट शुरू भएको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका तय गरेको हो ।
यसअघि भदौ १६ गते १४ औं महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका थियो । तर, क्रियाशील सदस्यता विवादलगायत समस्याका कारण निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने अवस्थामा कांग्रेस पुगेको थियो ।