२५ जेठ २०८३, सोमबार
बजेटबारेको अन्यौल

बजेटको प्रतिस्थापन विधेयकबारे अलमल, माधव नेपाल पक्षको निर्णायक कदम पर्खिँदै सरकार

बजेटको प्रतिस्थापन विधेयकबारे अलमल, माधव नेपाल पक्षको निर्णायक कदम पर्खिँदै सरकार

सरकाले हठात् संसद् अधिवेशन अन्त्य गरेपछि बजेटको प्रतिस्थापन विधेयक वा पुरक बजेट ल्याउने तयारी पनि प्रभावित बनेको छ ।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका थिए ।

अहिले सोही बजेट कार्यान्वयनमा छ । सरकार परिवर्तन भएपछि वर्तमान अर्थमन्त्री जनार्दन शर्मा बजेटलाई प्रतिस्थापन गर्ने कसरतमा छन् ।

अर्थमन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे ‘स्वेतपत्र’ समेत सार्वजनिक गरेका छन् ।

स्वेतपत्रपछि प्रतिस्थापन विधेयक छिट्टै ल्याउने उद्घोष अर्थमन्त्री शर्माले गरेपनि संसद् अधिवेशन अन्त्य हुँदा त्यो अलपत्र परेको छ ।

‘संसद्को अंकगणितमा बहुमत पाएर विधेयक पास हुनेमा विश्वस्त हुन नसक्दा बजेटबारेको विधेयक अड्किएको हो,’ अर्थमन्त्री शर्मा निकट स्रोतले भन्यो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल सहभागी छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा एमाले विभाजन हुँदा संसद्मा सरकारको बहुमत पुग्छ । त्यसपछि शुरू हुने संसद् अधिवेशनमा मात्र प्रतिस्थापन विधेयक टेबल गर्ने तयारीमा अर्थमन्त्री छन् ।

‘संसद्मा प्रतिस्थापन विधेयक टेबल गर्ने तयारी छ तर यो कहिलेसम्ममा हुन्छ भन्ने टुंगो लागेको छैन,’ स्रोतले भन्यो, ‘सदनमा जोडघटाउ अलि मिलिरहेको छैन, सुविधाजनक बहुमत आवश्यक हुन्छ, यो नभई त प्रतिस्थापन बजेट आउँदैन ।’

‘प्रतिस्थापन विधेयक पेश पनि गर्ने अनि त्यो बहुमतले पास गर्न सकेन भने खतराको घन्टी बजिहाल्छ, त्यसकारण अहिले यसमा केही विलम्ब भइरहेको छ,’ स्रोतले थप्यो ।

गत अघिल्लो साताको मंगलवार स्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक छिट्टै ल्याउने तयारी गरेको उद्घोष गरेका थिए ।

प्रधानमन्त्रीबाट जवाफ नै आएन 

प्रतिस्थापन विधेयक ल्याउनका लागि अर्थमन्त्री शर्माले कसरत गरिरहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे जवाफ दिइनसकेको स्रोतको दाबी छ । 

स्रोतले लोकान्तरसँग भन्यो, ‘प्रधानमन्त्रीसँग प्रस्ताव गरिएको भएपनि जवाफ आइसकेको छैन, अहिले बजेटलाई कसरी अगाडि बढाउने भन्नेबारे केन्द्रीय राजनीतिकै कुरा भएकाले अलमल जस्तै भएको छ ।’

यद्यपि गठबन्धनका शीर्ष नेताहरूबीच यसबारे छलफल भइरहेको स्रोतको भनाइ छ । 

नयाँ आयोजनाहरूमा अन्यौल 

बजेटबारे टुंगो लाग्न नसक्दा चालू आर्थिक वर्ष २०७८/७९ का नयाँ आयोजनाहरू अलमलमा छन् । 

अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमा केके व्यवस्था गर्छन् भन्ने समेत टुंगो लगाउन नसक्दा यसबारे अन्यौल बढेको छ । 

सामान्यतया भदौ महिनामा नयाँ आयोजनाका लागि ठेक्काको प्रक्रिया शुरू हुन्छ । तर बजेटबारे टुंगो नलाग्दा यो काम अगाडि बढ्न नसकेको अर्थमन्त्रालय स्रोतको दाबी छ । 

‘अहिले अन्यौल सिर्जना भएको छ, यसले  नयाँ आयोजनाको काम शुरू गर्न केही ढिलाइ भएको छ,’ मन्त्रालय स्रोतले भन्यो । 

खुद्रे आयोजनामा कैंची 

बजेटको प्रतिस्थापन विधेयक अलमलमा भएपनि अर्थमन्त्री शर्मा आफूले कुन–कुन आयोजनालाई हटाउने वा संशोधन गर्ने भन्नेमा केही दृढ देखिएका छन् ।

अघिल्लो सरकारले ल्याएका केही महत्वाकांक्षी, नयाँ र खुद्रे आयोजनामा कैंची चलाउने उनको योजना छ । 

यसपटक अघिल्ला सरकारले बजेटमा समावेश गरेका केही खुद्रे आयोजनाहरू काटिनेछन् भने ठूला आयोजनाहरू मात्रै बजेटमा प्राथमिकताका साथ ल्याउने उनको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्