
चीनका राष्ट्रपति सी चिनपिङले देशमा सम्पत्तिको पुनर्वितरण गर्ने साहसी प्रतिबद्धता यसै साता गरेका छन् । देशका धनाढ्य नागरिक तथा व्यापारिक प्रतिष्ठानमाथि उनले थप दबाब दिन खोजेका हुन् ।
सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतालाई मंगलवार सम्बोधन गर्दै सरकारले सामाजिक न्यायका लागि सम्पत्ति पुनर्वितरण गर्ने व्यवस्था बनाउनुपर्ने बताए ।
सरकारी समाचार संस्था सिन्ह्वाले सीको सम्बोधनको सारांश प्रकाशित गरेको छ ।
त्यसमा उल्लेख गरिएअनुसार, अति बढी कमाउनेहरूको तर्कसंगत नियमन जरूरी रहेको तथा बढी आय भएका व्यक्ति र संस्थाले समाजलाई बढी योगदान गर्नुपर्ने उनको भनाइ छ ।
यसलाई कसरी कार्यान्वयन गर्ने भनी सीले योजना बनाएका छन् भन्ने विषयमा सिन्ह्वाले धेरै खुलाएको छैन । तर सरकारले करमा पुनर्विचार गर्न वा सम्पत्तिको पुनर्वितरणका अन्य उपाय खोज्न सक्छ ।
सीले चिनियाँ जनताको साझा समृद्धिको आवश्यकतामा पनि जोड दिए । देशलाई सन् २०४९ सम्ममा पूर्ण विकसित, धनी र शक्तिशाली बनाउनका लागि यस्तो आवश्यकता रहेको उनको भनाइ छ ।
‘साझा समृद्धि भनेको सबै व्यक्तिको समृद्धि हो, केही व्यक्तिको मात्र हैन,’ सीले पार्टीको आर्थिक बैठकमा बताए । उक्त बैठक नीतिनिर्माणका लागि केही महिनाको अन्तरमा नियमित बस्ने गर्छ ।
साझा समृद्धि भन्ने शब्दावलिको चीनमा ऐतिहासिक महत्त्व छ । सीले सम्पत्ति पुनर्वितरणको सन्दर्भमा यस शब्दावलीको प्रयोग गर्दा विगतमा माओ चतोङले धनी जमीन्दार तथा कृषकबाट शक्ति खोस्नका लागि पैरवी गरेको नाटकीय आर्थिक सुधारका स्मरण गराएको छ ।