
नेकपा एमाले औपचारिक रूपमा फुटेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
प्रस्तावित दलको अध्यक्षमा माधव नेपाल स्वयं छन् । झलनाथ खनाल वरिष्ठ नेता रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको नेपाल पक्षलाई सहज हुने गरी सरकारले अध्यादेश ल्याएको थियो ।
बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’ अनुसार नेपाल पक्षले नयाँ दल दर्ता गर्न लागेको छ ।
नेपाल पक्षको दलको नाम नेकपा एमाले समाजवादी प्रस्ताव गरिएको छ भने चुनाव चिह्न प्रस्ताव गरिएको छैन ।
यसअघि खुला किताब प्रस्ताव गर्ने तयारी भए पनि दर्ता प्रक्रियामै रहेको अर्को दलसँग जुधेपछि त्यसलाई स्थगित गरिएको छ ।
एमाले एकताका लागि लामो प्रयास भएपनि अन्ततः पार्टी विभाजन भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले विभाजनको क्षति कम गर्न नेपाल पक्षका नेताहरूलाई फकाउने रणनीति लिएका छन् ।
एमालेको क्षति कम गर्न बागमती प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रदेश संसदीय दलको नेता बनाइएको छ ।
नेपाल पक्षका अधिकांश स्थायी कमिटी सदस्यहरू नयाँ दल दर्ताको प्रक्रियामा सहभागी छैनन् ।