२८ जेठ २०८३, बिहीबार

गृृहमन्त्री खाँणबाट सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

गृृहमन्त्री खाँणबाट सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

गृहमन्त्री बालकृष्ण खाँणले बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका कामकारवाहीबारे जानकारी लिएका छन् ।

त्यस अवसरमा गृहमन्त्री खाँणले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै राष्ट्रको सुरक्षा र नागरिकको सेवामा उनीहरूको योगदानको स्मरण गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिबद्ध रहि राज्यप्रदत्त जिम्मेवारीका
क्षेत्रहरूमा अहोरात्र क्रियाशील रहँदै उत्कृष्ट कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गर्दै कोभिड–१९ महामारीले देशमा गम्भीर क्षति पुर्‍याइरहेको नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीले आमनागरिकको स्वास्थ्य उपचारमा पुर्‍याएको योगदान तथा सीमा नाकामा आवतजावत नियन्त्रण र क्वारेन्टीनमा खटिएर सशस्त्र प्रहरी कर्मचारीले महामारी व्यवस्थापनमा प्रदर्शन गरेको जिम्मेवारी निर्वाहको मुक्तकण्ठले प्रशंसा गरे ।

गृहमन्त्री खाँणले सशस्त्र प्रहरी बल नेपालले सीमित साधनस्रोतको अधिकतम उपयोग गर्दै देशका विकट स्थानमा अहोरात्र खटिई सीमा सुरक्षा, नागरिकको सेवा, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, विपद् प्रकोप पीडितको उद्वारमा प्रशंसनीय कार्य गर्दै आइरहेको बताउँदै आम नागरिकको सुरक्षा र जीवनरक्षा नेपाल सरकारको मुख्य जिम्मेवारी रहेको समेत बताए ।

गृहमन्त्री खाँणले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिँदै गृह मन्त्रालय सशस्त्र प्रहरी बलका लागि आवश्यक आधुनिक साधनस्रोत, थप जनशक्ति र सांगठानिक विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

गृहसचिव टेकनारायण पाण्डेले शान्ति सुरक्षा तथा आमनागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोपमा उद्धार, कोभिड–१९ महामारी व्यवस्थापन लगायतका विविध जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपाल उत्कृष्ट कार्यसम्पादनमा क्रियाशील रहेको उल्लेख गर्दै देशभरका विभिन्न ठाउँमा खटिएर तथा द्वन्द्वग्रस्त मुलुकमा समेत विभिन्न संयुक्त राष्ट्रसंघीय मिसनमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्‍याएको योगदानको समेत प्रशंसा गरे ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा गृहमन्त्रीबाट भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको मनोवल तथा हौसलामा वृद्धि भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्