
जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम शुरू हुन सकेको छैन ।
गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम शुरू गर्न नसेकेको हो ।
यसका लागि संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेको भए पनि हालसम्म पनि जडानको काम शुरू नभएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।
गत आर्थिक वर्षको असारभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको हो । गत असारमा अस्पताल र कम्पनीबीच सम्झौता भएको थियो । त्यसपछि कम्पनीले प्लान्ट जडानका लागि १ महिना थप गरिदिन निवेदन दिएको थियो ।
उनले भने, ‘१ महिना थप गरेका अवधिमा पनि प्लान्ट जडानको काम शुरू भएको छैन ।’ उनले भने, ‘कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौं, अझै नेपालमा पुगेको छैन भन्ने जवाफ आएको छ ।’
कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । तेस्रो लहर आउने सम्भावना बढेको भए पनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने देखिएको छ ।