३० असार २०८३, मंगलबार
एमाले विभाजन

लुम्बिनीमा एमाले विभाजनको असर न्यून : नयाँ पार्टीको पक्षमा खुल्न हिच्किचाउँदै नेता/कार्यकर्ता !

भदौ ३, २०७८
लुम्बिनीमा एमाले विभाजनको असर न्यून : नयाँ पार्टीको पक्षमा खुल्न हिच्किचाउँदै नेता/कार्यकर्ता !

नेकपा एमालेको औपचारिक विभाजनपछि त्यसको असर प्रदेश, जिल्ला हुँदै पालिका तहसम्म पुग्दैछ । एमालेमा आएको विभाजनलाई पार्टीका प्रभावशाली नेताहरूसँग जोडेर हेरिएको छ । 

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि माधवकुमार नेपालले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताको निवेदन दिएका छन् ।

एमाले विभाजनको असर लुम्बिनी प्रदेशमा भने खासै देखिएको छैन ।

विभाजन अगाडि नेता नेपाललाई साथ दिएका प्रभावशाली नेताहरूले अन्तिम समयमा आएर उनको साथ छाडेका छन् ।

जसले गर्दा जिल्ला तहका नेताहरूले समेत साथ दिन हिच्किचाइरहेका छन् ।

अझै नेपालनिकट रहेका जिल्ला अध्यक्ष समेत एमालेमै रहेका छन् । संगठनात्मक रूपमा हेर्दा नयाँ दलप्रति एमालेका नेता/कार्यकर्ता खासै खुलेको देखिएको छैन ।

लुम्बिनी प्रदेशमा एमाले अध्यक्ष केपीका सारथि प्रभावशाली नेताहरू रुपन्देहीका विष्णु पौडेल, दाङका शंकर पोखरेल, गुल्मीका प्रदीप ज्ञवाली र पाल्पाका दलबहादुर राना हुन् । 

त्यस्तै माधव नेपाललाई लामो समय साथ दिएका रुपन्देहीका घनश्याम भुसाल, दाङका युवराज ज्ञवाली, गुल्मीका गोकर्ण विष्ट, पाल्पाका सोमप्रसाद पाण्डे, कपिलवस्तुका वेदुराम भुसाल हुन् । लुम्बिनी प्रदेशको बर्दियाका वामदेव गौतम कतै खुलेका छैनन् । वामदेवको भूमिकाले पनि प्रदेशमा प्रभाव पार्दछ । 

नेपाल पक्षमा रहँदै आएका बेदुरामबाहेक अरू कोही पनि एमाले समाजवादीको पक्षमा लागेका छैनन् ।

जिल्लामा खासै आकर्षण नदेखिएको एमाले समाजवादीको यात्रा तय गरेका रुपन्देहीका कार्यकर्ता लोकराज शर्माले बताए । 

उनले भने, ‘नयाँ पार्टी बनाउने कुरामा माधव नेपालप्रति भन्दा दोस्रो तहका नेताप्रति धेरैले आशा गरेका थिए । दोस्रो तहका नेताहरूले माधव नेपाललाई धोका दिए, जसले गर्दा जिल्लामा सोचेभन्दा धेरै कमजोर देखिने भयो ।’ 

रुपन्देहीमा एमालेको एकछत्र जस्तै छ । विभाजन अगाडि समानान्तर जिल्ला कमिटी बनाएका माधव नेपालनिकट जिल्ला अध्यक्ष राजु गुरूङले कुन नेता कता लागे, किन र केका लागि लागे त्यसले अर्थ नराख्ने बताए । आफू एमाले समाजवादी तर्फ नै लागेको उनको भनाइ छ ।

एमाले दाङ जिल्ला अध्यक्ष टीकाराम खड्काले आफू अहिलेसम्म एमालेमै रहेको स्पष्ट पारे । उनले विगत लामो समयदेखि नेपाललाई साथ दिएका थिए ।

‘हामी अझै पनि एमाले एकताबद्ध हुनुपर्छ भन्ने पक्षमा छौं । समाजवादीमा लागेको छैन । म अझै पनि एकताको पक्षमा छु,’ खड्काले लोकान्तरसँग भने । 

दाङमा विभाजन अगाडि नेपाल पक्ष बलियो थियो । गुल्मीमा पनि एमाले कार्यकर्ता सूर्य चिह्नकै पक्षमा देखिएको जिल्ला नेताहरू बताउँछन् ।

‘हाम्रो चाहना जिल्लाका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट एउटै पार्टी र एउटै चुनाव चिह्नबाट चुनाव लडून् भन्ने छ,’ विष्ट निकट कार्यकर्ताले भने । 

रुपन्देहीका एमाले नेता तेजेन्द्र केसीले जिल्लाका समाजवादी पार्टीमा एकदमै न्यून मानिस मात्र देखिएको बताए । उनले भने, ‘सूर्य चुनाव चिह्न छाडेर कार्यकर्ता अन्यत्र लाग्दैनन् ।

विभाजनको आवाज नै छैन जिल्लामा । एक दुईजना यताउता लागेर पार्टीमा त्यति ठूलो असर पुग्दैन ।’ 

लुम्बिनीका सांसद पनि माधवसँग नजाने 

लुम्बिनी प्रदेश सभामा माधव नेपालमा खुलेका दुई सांसद पनि उनको पार्टीमा नजाने भएका छन् । कपिलवस्तुका सांसद विष्णु पन्थी र पाल्पाकी रमा घर्ती नेपाल समूहमा खुलेका थिए । पन्थीले आफू पार्टी विभाजनको पक्षमा नभएको बताए ।

‘म पार्टी विभाजनको पक्षमा छैन,’ उनले भने, ‘कपिलवस्तुमा समानान्तर समिति अध्यक्ष भएर पनि काम गरेको हुँ । नेता नेपालले राखेका भेलामा पनि काठमाडौंमा गएर सहभागी थिएँ । तर, म पार्टी विभाजनको पक्षमा छैन ।’

अर्की सांसद रमा घर्तीले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताइन् । 

‘म पार्टी फूटको पक्षमा छैन । जनताका लागि राजनीति गरेकाले मूलधारको पार्टी र सूर्य चिह्न छाड्न सक्दिनँ,’ उनले भनिन् ।

लुम्बिनी प्रदेशका नेता जो समाजवादी पार्टीका केन्द्रीय सदस्य बने

माधव नेपालले लुम्बिनीबाट केन्द्रीय सदस्य बनाएका धेरै नेता चिनेका अनुहार होइनन् । अर्घाखाँचीबाट यमुना भुसाल, बर्दियाबाट कौशिला सिंह, रुकुमबाट देवी आली, दाङबाट अनारकली मिया, पाल्पाबाट राजेन्द्र लक्ष्मी गैरे, बाँकेबाट दलबहादुर सुनार केन्द्रीय सदस्य छन् । उनीहरू खासै परिचित नाम होइनन् । 

संगठनात्मक कार्यक्रम गर्दै एमाले

अहिले नेकपा एमाले पार्टीले विभिन्न सभा सम्मेलन गरिरहेको छ । विषेश गरी शंकर पोखरेल मुख्यमन्त्रीबाट हटेपछि पार्टीको प्रशिक्षण र सभामा केन्द्रित छन् । 

कार्यकर्तालाई एमालेमै राख्न उनले प्रदेशका विभिन्न जिल्लामा सभा सम्मेलन र मस्यौदामा छलफल गरिरहेका छन् । 

बुधवार उनी बुटवलमा बृहत कार्यकर्ता भेला तथा मस्यौदामाथि छलफललाई सम्बोधन गरे । उनले गृहजिल्ला दाङ र बाँकेको कार्यक्रमलाई पनि सम्बोधन गरिसकेको छन् ।

उनले मूल एमालेलाई कार्यकर्ताले छाड्न नसक्ने बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्