नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुले नबिल बैंक मार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट एगेन्स्ट पेमेन्ट, डकुमेन्ट एगेन्स्ट एसेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधाहरु उपभोग गर्न सक्नेछन् ।
यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् ।
साथै यस सम्झौता पश्चात दुई बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडि बढाउने लक्ष्य राखिएको छ ।
साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाहले भने,‘नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुबिधा प्रदान गर्न पाउ“दा खुसी छौ । यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउ“दा नबिल बैंक उत्साहित छ र दुबै बैंकका ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।’