
दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
पटक–पटक म्याद थप हुँदा समेत प्रतिवेदन बुझाउन नसकेको समितिले आगामी हप्ता भने बुझाउने गरी काम भइरहेको जनाइएको छ ।
समितिका संयोजक सहसचिव जनार्दन गौतमले बुधवार पनि समितिका सदस्यबीच छलफल जारी रहेको र केही नयाँ सन्दर्भ आउँदा जिल्लासँग छलफल र समन्वय भइरहेको जानकारी दिए ।
‘हामी १ हप्तामा अनुसन्धान सकेर मन्त्रालयलाई प्रतिवेदन बुझाउने गरी अघि बढेका छौं,’ गौतमले भने ।
घटनाको अध्ययनका लागि मन्त्रालयले सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन् ।
गत साउन १७ गते गठित समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो ।
छानबिन नसकिएपछि मन्त्रालयले मंगलवारसहित ३ पटक म्याद थप गरिसकेको छ । यसअघि साउन २५ र भदौ १ गते पनि समितिको म्याद थप गरिएको थियो ।
यसअघि टोली दार्चुला पुगेर स्थलगत रूपमा घटनाको अध्ययन गरी फर्किएको थियो । सो क्रममा टोलीले राजनीतिक दल, सरकारी अधिकारी, पत्रकार, स्थानीय, पीडित परिवार, जनप्रतिनिधिसँग छलफल गरेको थियो भने खोजबिनका सिलसिलामा बैतडी, कञ्चनपुर समेत पुगेको जनाइएको छ ।
साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी बेपत्ता भएका थिए । पीडित पक्ष तथा स्थानीयले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका छन् भने कतिपयले डोरी फुस्काइदिँदा नदीमा खसेको बताउँदै आएका छन् ।