३० जेठ २०८३, शनिबार

काठमाडौं उपत्यकाको फोहर अझै १ हप्ता नउठ्ने

भदौ ९, २०७८
काठमाडौं उपत्यकाको फोहर अझै १ हप्ता नउठ्ने
फाइल फोटो

काठमाडौं उपत्यकाको फोहर अझै १ हप्ता नउठ्ने भएको छ ।

बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै १ हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो । 

पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए । 

साँघुरो ठाउँ तर लामो समयदेखि फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा व्यवस्थापन गरिएकाले उक्त फोहरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन । 

‘त्यसका लागि पहिले सडक विभाग र काठमाडौं महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माणको काम गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन छ,’ वाग्लेले भने । 

गत ११ दिनदेखि काठमाडौं उपत्यकाको फोहर नियमितरूपमा उठ्न सकेको छैन । गत साउन ३२ देखि नै कामपाले सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । 

सो सूचना सार्वजनिक भएको पनि १ हप्ताभन्दा बढी भयो तर अझै साविकको जस्तो फोहर व्यवस्थापन हुन सकेको छैन ।  यसले गर्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्याण्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताए ।

उनले भने, ‘निर्माणाधीन बञ्चरेडाँडामा फोहर व्यवस्थापनको काम शुरू नगरिएसम्म समस्या समाधान हँदैन, सिसडोलमा अब व्यवस्थापन गर्ने ठाउँ छैन ।’ 

सिसडोलमा विक्रम संवत् २०६२ सालमा २ वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड निर्माण गरिएको थियो तर पटक पटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडी मात्र सिसडोल पुग्ने गरेका छन् । 

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा २ किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । १३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ ।

काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । 

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विक्रम संवत् २०७६ वैशाख २२ गते १ वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । निर्माणका लागि निर्धारित समय सकिएको छ । काम सम्पन्न गर्नका लागि भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ बजेट सम्झौता भएको थियो । 
 
निर्णयअनुसार बाँध निर्माणको काम सहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको थियो । उता डिभिजन सडक कार्यालय काठमाडौंले सिसडोलको समस्या आफ्नो नरहेको बताएको छ । बञ्चरेडाँडा अब १ हप्तामा तयार हुन्छ, वैकल्पिक बाटो तयार नगर्ने हो भने उक्त स्थानमा फोहर विसर्जन गर्न सकिँदैन त्यसको लागि कामपाले अहिले नै बाटो तयार गर्नुपर्छ ।   
 
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीका अनुसार यसमा सडक विभागले गर्नुपर्ने काम सकिएको छ । सिसडोलको फोहरको थुप्रो पन्छाएर सोही स्थानबाट बञ्चरेडाँडामा फोहरको गाडी लाने वा अर्को विकल्प खोज्ने काम कामपाको हो । – शर्मिला पाठक/रासस

salt training

कमेन्ट गर्नुहोस्