२८ असार २०८३, आइतबार

दुई नयाँ पार्टीले संसद्‍मा अदलबदल– उपेन्द्रलाई विस्थापित गर्दै माधव नेपालको पार्टी चौथो दल !

संसद् सचिवालयलाई आर्थिक भार थपियो
दुई नयाँ पार्टीले संसद्‍मा अदलबदल– उपेन्द्रलाई विस्थापित गर्दै माधव नेपालको पार्टी चौथो दल !

नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएसँगै संसद्मा दलको संख्या र समीकरणमा अदलबदल हुने भएको छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ ।

हाल प्रतिनिधि सभामा राष्ट्रिय मान्यताप्राप्त दलको संख्या ४ र तीन दल स्वतन्त्र हैसियतमा थिए । निर्वाचन आयोगले छुट्टै पार्टीको औपचारिक मान्यता दिएसँगै माधव नेपालको पार्टीले संसद्मा पनि छुट्टै दलको मान्यता पाएको  छ ।

माधव नेपाल पक्षले प्रतिनिधि सभाका २५ र राष्ट्रिय सभाका ८ सांसद आफ्नो पक्षमा रहेको बताएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रपछि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी संसद्को चौथो ठूलो शक्ति बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकाले अब माधव नेपालको पार्टी सदनमा सत्तापक्षको ‘रो’मा बस्न पाउने छ ।

यसअघि जसपा संसद्को चौथो ठूलो शक्ति थियो । माधव नेपालको दल चौथो दल बन्दा उपेन्द्र यादवको पार्टी संसद्मा पाँचौ स्थानमा पुग्नेछ भने महन्थको पार्टी छैटौँ दल बनेको छ ।
राष्ट्रिय सभामा पनि माधव नेपालको पार्टी चौथो ठूलो दल बनेको छ ।

यस्तै महन्थ ठाकुरको पार्टीले पनि संसद्मा छुट्टै संसदीय दल गठन गर्न पाउने छ । महन्थ पक्षले पनि बुधवार आयोगबाट आधिकारिकता पाएको हो ।

संसद् सचिवालयलाई भार
संसद्मा प्रतिनिधित्व गर्ने दलको संख्या बढेसँगै संघीय संसद् सचिवालयलाई भने आर्थिक भार पर्ने भएको छ ।

सचिवालयका एक अधिकारीका अनुसार नयाँ दलले मान्यता पाएसँगै त्यो दललाई संसदीय दलको कार्यालयदेखि दलको नेता र सचेतकहरूलाई गाडी र इन्धनको व्यवस्था गर्नुपर्छ ।

आयोगबाट दल विभाजनको पत्र पाउनासाथ नयाँ दललाई संसदीय दलको कार्यालय उपलब्ध गराइने सचिवालयका ती अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

राष्ट्रिय दलको मान्यता पाएका दलका नेता र सचेतकलाई सचिवालयले सवारी साधन र इन्धनको व्यवस्था गर्ने गरेको छ ।

माधव पक्षमा लागेका सांसदमध्ये दुईजना संसदीय समितिको सभापति छन् । कल्याणी खड्का र निरादेवी जैरुले संसदीय समितिको सभापतिको हैसियतमा सचिवालयको गाडी चढिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्