२६ जेठ २०८३, मंगलबार

२४ वर्षपछि फेरि फूट्यो एमाले

२४ वर्षपछि फेरि फूट्यो एमाले

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रुपमा विभाजित बनेको छ। एमाले विभाजन भएर नेकपा माले गठन भएको २४ वर्षपछि एमाले फेरि विभाजित भएको हो । २०५३ सालमा भएको महाकाली सन्धिलाई लिएर २०५४ सालमा एमाले विभाजन भएर माले गठन भएको थियो ।

सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली लगायतले माले गठन गरेका थिए । २०५६ सालको प्रतिनिधि सभामा देशभर लज्जास्पद पराजय व्यहोरेपछि दुई पार्टीबीच फेरि एकता भएको थियो ।

गौतम, प्रधानलगायत ठूलो हिस्सा एमालेमा फर्के पनि सीपी मैनालीले भने माले पुनर्गठन गरेका थिए । एमाले विभाजन गरेका नेताहरूले पछि पार्टी विभाजन गर्नु गल्ती भएको बताएका थिए ।

विभाजनको असर एमालेमा पछिसम्म देखिएको थियो । २०५४ सालमा भएको विभाजनको असर नबिर्सँदै फेरि एमाले विभाजन भएको हो । एमालेको माधव कुमार नेपाल नेतृत्वको  नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बुधबार राति आयोगले आधिकारिकताको प्रमाणपत्र दिइसकेको छ ।

२०५४ सालमा विभाजनको कारक महाकाली सन्धि देखिएपनि यसपटक एमाले विभाजनको खास कारण देखिएको छैन । माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगामी कदम भन्दै आइरहेको थियो ।

२०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता भंग हुनुपूर्व नै माधव नेपाल, झलनाथ खनाललगायत नेताहरूले ओलीको राजीनामा माग गरेका थिए ।

यसबीचमा पार्टी एकताका लागि प्रयास भएपनि त्यसले सार्थकता पाउन सकेन । दुवै पक्षले कार्यदल गठन गरेर १० बुँदे सहमति गरेपनि त्यसले पार्टी जोगाउन सकेन ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी कायम गर्नुपर्ने, समान अधिकार सहितको दुई अध्यक्ष राख्नुपर्ने तथा फागुन २८ पछिका सबै निर्णय खारेज गर्नुपर्ने शर्त माधव नेपालले राखेका थिए ।

दुवै अध्यक्षको हस्ताक्षर मात्र आधिकारिक हुने लगायत माधव नेपालका शर्त ओलीले अस्वीकार गरेको स्रोतको दाबी छ ।

पार्टी विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल दर्ता गरेको हो । नेपालको पक्षमा ३० सांसद र ५५ केन्द्रीय सदस्य रहेका छन् ।
नेपाललाई उनकै खेमाका भनिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, योगेश भट्टराईलगायतका १० स्थायी समिति सदस्यले भने साथ दिएनन् । उनीहरु हाल संस्थापन पक्षतिरै देखिएका छन् ।

 


salt training

कमेन्ट गर्नुहोस्