०२ असार २०८३, मंगलबार

सडकमै चालकको आँखा र रक्तचाप जाँच

भदौ १०, २०७८
सडकमै चालकको आँखा र रक्तचाप जाँच
प्रतिकात्मक तस्वीर

राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडकमै सवारी चालकको आँखा र रक्तचाप जाँच्न थालेको छ ।

सप्तरी जिल्ला ट्राफिक कार्यालय र रुपनीस्थित प्रदेश २को प्रहरी अस्पतालले संयुक्तरूपमा पूर्व–पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारीसाधनका चालकको सडकमै आँखा र रक्तचाप जाँच गर्न थालेका हुन्  । 

भदौ ७ गतेदेखि शिविर राखी १६८ चालकको आँखा र रक्तचाप जाँच गरिएको अस्पतालका प्रहरी निरीक्षक डा. धर्मप्रताप भरखेरले जानकारी दिए ।

जाँच गरिएकामध्ये थोरैमा मात्र आँखा सम्बन्धी समस्या देखिएको उनको भनाइ थियो । १० प्रतिशतमा मात्र उच्च रक्तचाप देखिएको र तीमध्ये ५ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ ।

लामो दूरीका सवारी चालकमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिनेजस्ता समस्या देखिएकाले उनीहरूलाई थप उपचार गराउन सुझाव दिइएको थियो ।  

दुर्घटनाका विविध कारणमध्ये चालकका आँखाको दृष्टि कमजोर र अन्य स्वास्थ्य समस्याका कारण पनि रहेकोे जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक कैलाशबहादुर भट्टराईले जानकारी दिए ।

‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको उक्त शिविरमा चालकलाई आँखा, रक्तचाप, बढ्दो सवारी दुर्घटना र सहजरूपमा गाडी चलाउनेबारे जानकारी दिइएको थियो । 

जाँचपछि सवारी दुर्घटना हुनाका कारण र न्यूनीकरणका उपायबारे अन्तक्र्रिया गर्दा चालकबाट सडकको दुराव्यवस्था, ट्राफिक नियम विपरीत ठूलो लाइनको प्रयोग, गलत किसिमले बत्ती बाल्ने, युवाले लागूऔषध सेवन गरी सवारी चलाउनेजस्ता कारणले दुर्घटना बढेको सुझाव आएको उनले बताए ।

दैनिक भत्तामा काम गर्ने टिप्परका चालकले बढी कमाउने लोभमा तीव्र गतिमा चलाउने र साना सवारीसाधनले गलत साइडबाट उछिन्ने गर्दा पनि दुर्घटना बढ्ने गरेकोजस्ता सुझाव आएको र यसलाई आधार बनाएर दुर्घटना न्यूनीकरणका लागि योजना बनाइने प्रहरी निरीक्षक भट्टराईले बताए ।

शिविर २ दिनसम्म मात्र राखिएकामा चालकको सुझावअनुसार थप २ दिन लम्ब्याइएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्