
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको भावी सभापतिमा उम्मेदवारी दिने तयारीस्वरूप सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने बताउँदै आएका निधिले 'सभापति पदका उम्मेदवार' उल्लेख भएको ब्यानर समेत फेसबूकमा राखेका छन् ।
'नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मैले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको सम्बन्धमा यहाँहरू जानकार नै हुनुहुन्छ। यसै शिलशिलामा बानेश्वरस्थित बानेश्वर बैंकेटमा मेरो सम्पर्क कार्यालय शुभारम्भ हुन गइरहेको पनि सहर्ष जानकारी गराउँदछु। तपसिलमा उल्लिखित मिति, समय र स्थानमा सम्पर्क कार्यालयको शुभारम्भ गरिने भएको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु। जय नेपाल !' निधिले फेसबूकमा लेखेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनका लागि लिखितरूपमा आफूलाई सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने निधि पहिलो नेता हुन् ।
कांग्रेसमा सभापति पदका आकांक्षी अन्य नेताहरू समेत भएपनि यसरी सम्पर्क कार्यालय नै खोलेर तयारी थाल्ने चरणमा पुगेका छैनन् ।