०१ असार २०८३, सोमबार

चैतसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

भदौ १०, २०७८
चैतसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी
प्रतिकात्मक तस्वीर

आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र संरचना मर्मत अघि बढाइने भएको छ । 

मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, स्थानीय पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो । 

गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, ‘अहिले हेडवर्क १०/१५ मिटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन ।’

चैतमा काठमाडौंमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले जनाएको छ । हेडवर्कमा कति क्षति भएको छ त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ । 

अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताए । ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ । त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल रहेको सूचना अधिकारी पन्तले बताए ।

उनले भने, ‘साँघुरो ठाउँमा एकैपटक धेरै उपकरण लैजान नसक्ने अवस्था छ, त्यसले समय लाग्नसक्ने देखिएको छ ।’

हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो । त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ । पछिल्लो बाढीले गर्दा यहाँ रहेका सडक बगाएको छ भने अरु संरचनामा कति क्षति पुग्यो भन्ने थाहा नभएको सूचना अधिकारी पन्तले बताए ।

उनले भने, ‘पहिलो बाढीपछि नै परामर्शदाता कम्पनीले त्यहाँ पुगेको क्षति र मर्मतबारे अध्ययन गरिरहेको छ ।’ – सञ्चिता घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्