
नेकपा एमालेले १० बुँदे सहमतिलाई जनवर्गीय संगठनमा कार्यान्वयन गर्न कार्यदल बनाएको छ ।
बिहीवार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति तत्काल कार्यान्वन्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।
पार्टी एकतालाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनवर्गीय संगठनहरूमा १० बुँदे सहमति कार्यान्वयनको लागि कार्यदल बनाइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ गतेअघिको अवस्थाबाट क्रियाशील गराउने जिम्मेवारी कार्यदललाई दिइएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा बनेको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी सदस्य रहेका छन् ।
कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदलले सहजीकरण गर्ने ज्ञवालीले बताए ।
पार्टीका सबै तहमा १० बुँदे कार्यान्वयनका लागि एमाले स्थायी कमिटी बैठकले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र अर्का उपमहासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको थियो ।
एमालेका केही केन्द्रीय सदस्य र कतिपय जनवर्गीय संगठनका नेतृत्वहरू नै एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा गएपछि ती जनवर्गीय संगठनको नेतृत्व चयन गर्नेदेखि कमिटीलाई पूर्णता दिनेसम्मको कार्यादेश बिहीवार बनेको कार्यदललाई दिइएको छ ।
एमालेको बिहीवारको केन्द्र्रीय कमिटी बैठकले पार्टी फुटाएर अर्को पार्टीमा जाने नेता कार्यकर्ताको अभिलेख हटाउने निर्णय गरेपछि जनवर्गीय संगठनमा पद रिक्त हुने अवस्था आएको छ ।