
नेपालमा डाक्टरहरूको अवस्था र सक्रियताबारे नेपाल मेडिकल काउन्सिलले खोजी शुरू गरेको छ ।
विगत २७ वर्षदेखि काउन्सिलमा डाक्टरहरूले आफ्नो अवस्था जानकारी नगराएका कारणले उनीहरूको अवस्था र सक्रियताबारे तथ्यांक अद्यावधिक गर्नका लागि सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।
‘विगत लामो समयदेखि मेडिकल काउन्सिलमा डाक्टरहरूको अवस्था के छ भन्ने जानकारी छैन, त्यसका लागि हामीले डाक्टरहरूलाई आफ्नो अवस्थाको बारेमा जानकारी दिनका लागि सूचना निकालेर अद्यावधिक गर्न भनेका हौं,’ रजिस्ट्रार अधिकारीले लोकान्तरसँग भने ।
काउन्सिलले असार २२ गते सूचना जारी गरेर ‘सयम–समयमा नाम दर्ता भएका चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने दिवंगत वा सदस्यताबाट नाम हटाइने भएकाले चिकित्सकहरूको नाम हटाउने र कुनै दर्तावाला चिकित्सकले आफ्नो व्यवसाय छाडेमा वा आफ्नो ठेगाना बदलेमा रजिस्ट्रारलाई १ महिनाभित्र सूचना गर्नुपर्ने व्यवस्थाको अधिनमा रही दर्ता अभिलेख अद्यावधिक गर्ने काम सम्पन्न गर्नुपर्ने भएकाले सबै दर्तावाला चिकित्सकलाई ने.मे.का.को वेबसाइटमार्फत अद्यावधिकका लागि अनुरोध गरिएको छ,’ भनिएको छ ।
कुनै पनि चिकित्सकले आफूले पेशा छाडेको वा विदेश गएको खण्डमा १ महिनाभित्र जानकारी गराउनुपर्ने नेपाल मेडिकल काउन्सिल ऐन २०२० मा व्यवस्था छ ।
यदि ३ महिनाभित्र जानकारी नगराएको खण्डमा काउन्सिलले कारवाही गर्ने व्यवस्था रहेको रजिस्ट्रार अधिकारीले बताए ।
उनका अनुसार पछिल्लो समय मृत्यु भएका चिकित्सक, विदेश गएका डाक्टरहरूको तथ्यांक दुरुस्त नभएकाले त्यसको अवस्थाबारे जानकारी लिनका लागि पनि अद्यावधिक गर्न लागिएको बताए ।
नेपाल मेडिकल काउन्सिलको तथ्यांक अनुसार हालसम्म विशेषज्ञको रूपमा एमडी एमस र एमडीएस डाक्टरतर्फ ५ हजार ९१८ जना पुरुष डाक्टर र २ हजार ३९७ जना महिला डाक्टर गरी ८ हजार ३१५ जनाले दर्ता गरी मान्यता लिएका छन् भने एमबीबीएस र बीडीएस डाक्टरतर्फ १७ हजार ९९५ पुरुष र १० हजार ४८२ जना गरी २८ हजार ४७७ जनाले मान्यता लिएका छन् ।
