२४ जेठ २०८३, आइतबार

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने सरकारको निर्णय

योजना आयोगमा २ सदस्य नियुक्त, २ खोपको क्लिनिकल ट्रायल अनुमति
जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने सरकारको निर्णय

महाकाली नदी तर्नेक्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटिदिएका कारण नदीमा बगेका जयसिंह धामीको परिवारलाई सरकारले सहयोग स्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

दार्चुला जिल्लाको व्यास गाउँपालिकाका धामी गत साउन १५ गते तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मी तुइनको तार काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका थिए ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले अतिकम विकसित राष्ट्रहरू सम्बन्धी उच्चस्तरीय एसिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालको तर्फबाट भर्चुअल रूपमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई अनुमति दिने निर्णय पनि गरेको छ । 

नेपाल विद्युत प्राधिकरणको १३२ केभीए प्रसारण लाइनमा पर्ने जग्गाको मूल्यांकन गर्न गठित समितिको अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । 

नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गरिएको प्रवक्ता कार्कीले बताए । 

त्यसैगरी, सरकारले राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गरेको कार्कीले बताए ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले एमआरएनए खोप र हैजाको खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्