
अफगानिस्तानको राजधानी काबुलमा बिहीवार भएका शृंखलावद्ध बम विस्फोटमा आफ्ना ४ जना सैनिकको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडन आक्रोशित भएका छन् ।
तालिबानको कब्जामा रहेको काबुल विमानस्थलनजिकै बिहीवार रातिसम्म शृंखलावद्ध बम विस्फोट भएका हुन् ।
बम विस्फोटमा परेर ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीवार साँझदेखि हालसम्म ३ विस्फोट भइसकेका छन् ।
विस्फोटमा परेर १२० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तालिबानीको त्रासले अफगानिस्तान छाड्न विमानस्थलमा मानिसको भीड लागेका बेला यस्ता विस्फोट भएका छन् ।
विस्फोटपछि प्रतिक्रिया जनाएर राष्ट्रपति बाइडेनले आतंककारीहरूलाई चेतावनी दिँदै यी मृत्युको मूल्य चुकाउनुपर्ने जनाएका छन् । ‘हामी यसलाई बिर्सिने छैनौं, तिमीहरूलाई माफ गर्ने छैनौं,’ उनले भनेका छन्, ‘हामी छानीछानी शिकार गर्नेछौं, हामी अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई बचाउने छौं, साथै उद्धार गर्नेछौं । आवश्यक परेमा अतिरिक्त अमेरिकी फौज अफगानिस्तान पठाउने छौं ।’
काबुलमा तालिबानी कब्जापछि आतंककारी हमलाको आशंका गरिएको थियो । अमेरिका, बेलायत लगायतले हमला हुनसक्ने चेतावनी दिएका थिए ।
बम हमलाको जिम्मेवारी इस्लामिक स्टेट खारासान प्रान्तले लिएको छ । उसले आत्मघाती हमलावरको तस्वीर समेत सार्वजनिक गरेको छ । जसको नाम अब्दुल रहमान अल लोगहरि बताइएको छ ।