![अविरल वर्षाले डुबान : घरभित्रै पस्यो बाढी [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/239459441_3131628703790179_5558287888747786397_n_VIcKjMUGQ6.jpg)
अविरल वर्षाका कारण लुम्बिनीको जनजीवन प्रभावित भएको छ ।
बिहीवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण ठाउँठाउँमा डुबान हुनुका साथै पूर्वपश्चिम राजमार्ग अवरुद्व भएको छ ।
रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिएर पूर्णरूपमा क्षति भएको छ । जसका कारण पूर्वपश्चिम राजमार्ग बन्द भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमाको शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगायतका ठाउँ डुबानमा परेका छन् । निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटीय क्षेत्रमा जोखिम बढेको छ भने नदी आसपासका क्षेत्र डुबानमा परेका छन् ।
वर्षाका कारण तिनाउ नदी उर्लिएको छ भने नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा रहन बुटवल उपमहानगरपालिकाले अपिल गरेको छ ।
कपिलवस्तु वाणगंगा नदी आसपासको क्षेत्र पनि जोखिममा परेको छ भने नवलपरासीका विभिन्न स्थान जोखिममा परेका छन् । अर्घाखाँची जाने सडकमा पनि पहिरो खसेका कारण अवरुद्व भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले बताए ।


