०३ असार २०८३, बुधबार

डबल डिग्री थन्क्याएर केरा खेतीमा जमेका जनआन्दोलनका ‘जिउँदो शहीद’ आचार्य

भदौ १२, २०७८
डबल डिग्री थन्क्याएर केरा खेतीमा जमेका जनआन्दोलनका ‘जिउँदो शहीद’ आचार्य

अधिकांश व्यक्तिले राजनीतिलाई सेवा होइन, पेशा एवं व्यापारको रूपमा अँगालेको उदाहरण नेपाली समाजमा धेरै पाइन्छ । जुन कारण राजनीति विकृत बनेको छ ।

तर समाजमा त्यस्ता व्यक्ति पनि छन्, जसले राजनीतिलाई सेवाको रूपमा अगाडि बढाएका छन् । बरु आफ्नो जीविकोपार्जनको लागि सँगै अन्य व्यवसाय गर्दै आएका छन् ।

सक्रिय राजनीतिसँगै व्यवसायीमा जमेका व्यक्ति हुन् कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीका ३७ वर्षीय लक्षीराम आचार्य ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर, कानूनमा स्नातक गरेका आचार्य केही वर्षदेखि व्यावसायिक केराखेतीमा जमेका छन् । 

राजनीतिलाई कमाइखाने भाँडो बनाएकोमा उनलाई पटक्कै चित्त बुझ्दैन । राजनीति गर्नेहरू भ्रष्टाचार र विकृतिमा मुछिएको, कसैमा पनि निष्ठा नरहेको देखेपछि उनलाई राजनीतिप्रति वितृष्णा पनि उत्तिकै जागेको छ । अर्कोतिर परिवारप्रतिको जिम्मेवारीले पनि व्यावसायिक कृषितर्फ अग्रसर भएका छन् ।

‘उमेर छिप्पिँदै गएको छ, छोराछोरी हुर्किंदैछन्,’ आचार्य भन्छन्, ‘उनीहरूलाई पढाउन र घर चलाउन त राजनीतिले सकिँदैन नि ! त्यसैले केरा खेती थालेको हुँ ।’ 

सरकारले स्वदेशमा केही गर्न चाहनेलाई युवालाई नीतिगत र व्यावहारिक रूपमै ढाँटिरहेको उनको गुनासो छ ।

वार्षिक २० लाख बचत

हाल राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव रहेका आचार्य आफ्नो राजनीतिक जीवनमा ५७ पटकसम्म गिरफ्तारीमा परेका छन् तर ९ वर्षअघि प्राध्यापन र सक्रिय राजनीति छाडेर पूर्णकालीन किसान बनेका हुन् । केराखेतीमा उनी सफल पनि बनेका छन् ।

अहिले केरा खेतीबाटै सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म बचत गर्छन् उनी । ८ वर्षअघि केराखेती शुरू गरेका उनको लगानी अहिले झण्डै १ करोड रुपैयाँ पुगिसकेको छ । गोदावरी नगरपालिका–६ र ७ मा गरी १५ बिघामा केराखेती गरिरहेका आचार्यले आम्दानी बढ्दै गएपछि थप ७ बिघा जमिन लिजमा लिएका छन् । 

त्यो पीएचडी सपना

उसो त पढाइमा पनि औधी रुचि राख्ने व्यक्ति हुन् उनी । आचार्यले २०६९ सालमा विद्यावारिधि (पीएचडी) मा छात्रवृत्ति पाउन निकै कसरत गरे । 

‘त्रिवि मानविकी तथा समाजशास्त्र संकायका तत्कालीन डीनले कुन पार्टीको हो भनेर सोध्नुभयो,’ आचार्य भन्छन्, ‘मैले कांग्रेस, माओवादी, एमाले होइन । अरू भन्नुपर्छ भन्दा उहाँ मुसुमुसु हाँस्नुभयो ।’

उनले पैसा तिरेर पढ्नसक्ने अवस्था थिएन, छात्रवृत्ति पाएनन् । आचार्यका बुवा तत्कालीन एमालेका जिल्ला नेता ७३ वर्षीय पराशर आचार्य अहिले पनि एमालेमै आबद्ध छन् । छोरा अर्को पार्टी राष्ट्रिय जनमोर्चामा लागेपछि बुवाले उच्च शिक्षा अध्ययनका लागि सहयोग नगरेको उनी बताउँछन् ।

‘त्यसपछि पीएचडी सपना छाडेर फर्किएँ । त्यसै वर्षदेखि कैलालीको गेटामा जग्गा लिजमा लिएर केराखेती शुरू गरें,’ उनले भने ।

केरा आन्दोलन

आचार्यले केराखेती शुरू गर्दा कैलाली–कञ्चनपुरमा केराखेती न्यून थियो । अहिले व्यावसायिक केराखेती गर्ने किसानको संख्या उल्लेख्य छ । 

पहिले विना परीक्षण भारतीय केरा आयात हुन्थ्यो । नेपालमा केरा उत्पादन बढी भएका बेला भारतीय व्यापारीले मूल्य घटाएर नेपाल पठाउँथे । उत्पादन कम भएका बेला मूल्य बढाउँथे । 

भारतीय केराको निर्बाध आयातमा रोक लगाउनुपर्ने माग गर्दै आचार्यले आन्दोलन थाले । शुरूमा कैलाली र कञ्चनपुरका केरा किसानलाई भेला गर्दै आन्दोलन थालेका उनले बिस्तारै कञ्चनपुरदेखि झापासम्मका केरा किसानलाई एकै थलोमा जम्मा गरे ।

अन्ततः केरा किसानको आन्दोलनले सफलता पायो । अहिले भारतबाट केरा आयात गर्दा क्वारेन्टीन जाँच गर्नुपर्ने नियम लगाइएको छ ।

आचार्य भन्छन्, ‘सन्तुष्ट छु, आफूले गरेको आन्दोलनले किसानलाई फाइदा पुगेको छ ।’

विद्यार्थीकालदेखि राजनीति

कैलालीको चुरे गाउँपालिका–१ मा जन्मेका आचार्य ५ कक्षामा पढ्दादेखि नै राजनीतिक दलका पोस्टर टाँस्दै हिँड्थे । २०५१ सालको आमनिर्वाचनमा उम्मेदवारहरूको प्रचारमा पोस्टर टाँसेको सम्झँदै आचार्य भन्छन्, ‘पारिवारिक पृष्ठभूमि तत्कालीन एमाले निकट थियो । त्यसकारण पनि राजनीतिक झुकाव कम्युनिस्टतिरै भयो ।’

७ कक्षा पढ्दै गर्दा उनले अखिल क्रान्तिकारीको सदस्यता लिए । २०५७ सालमा धनगढीमा भएको अनेरास्ववियू छैटौंको राष्ट्रिय सम्मेलनबाट उनी राष्ट्रिय जनमोर्चामा जोडिए । त्यसपछि तत्कालीन माओवादीमा आबद्ध भए । 

२०५८ सालमा सरकार र तत्कालीन माओवादीबीच वार्ता चलिरहँदा उनले माओवादी परित्याग गरेर राष्ट्रिय जनमोर्चामै संलग्न भए । 

उनी भन्छन्, ‘संविधान सभाको माग गर्नकै लागि किन युद्ध गर्नुपर्‍यो, लाखौं मान्छे किन मार्नुपर्‍यो भनेर माओवादीबाट अलग भएँ ।’ राजनीतिक जीवनकै क्रममा आचार्यले निकै दर्दनाक घटनाको सामना समेत गर्नुपरेको थियो ।

प्रहरीको कुटाइले ७ दिनसम्म बेहोस

२०६२/०६३ सालको जनआन्दोलनताकाको घटना स्मरण गर्दै उनले भने, ‘जुलुस धनगढी क्याम्पस चोकबाट चौराहातिर बढ्दै थियो । जिल्ला प्रहरी कार्यालय नजिकैको पुलमा प्रहरीले काँडेतार तेस्र्याएर बाटो अवरुद्ध पारेको थियो । त्यहाँ पुग्दा प्रहरी र आन्दोलनकारीबीच झडप भयो । गोली चल्यो, बारुडको छर्राले रौं जल्यो मेरो । भागाभाग भयो । १०–१५ जना प्रहरीको समूहले घेरा हालेर कुट्नसम्म कुटे । नजिकैको बाँसको झाँडीमा हाम फाले । बेहोस भएछु ।’

२०६२/०६३ सालको जनआन्दोलनताका उनी संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समिति कैलालीका संयोजक थिए । चैत २८ गते विशाल जुलुसको नेतृत्व गरिरहँदा प्रहरीको कुटाइबाट उनी बेहोस भएका हुन् । 

‘७ दिनपछि होस खुल्दा आफूलाई भारतको लखनऊस्थित स्वामी विवेकानन्द हस्पिटलमा पाएँ,’ उनले अगाडि थपे, ‘मरेर बाँचेछु, राजतन्त्रविरुद्ध एवं लोकतन्त्र र गणतन्त्रको लागि जनताले निकै संघर्ष र त्याग गरे ।’

उनलाई २०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र २०६३ सालमा कैलालीको साविक चौमाला गाउँ परिषद्ले ‘जिउँदो शहीद’को रूपमा सम्मान गरेको थियो ।

सानैदेखि पढाइमा अब्बल आचार्यले ‘प्लस टु’ पढ्दै गर्दादेखि पढाउन पनि शुरू गरिसकेका थिए । 

पढाइ, राजनीति र जागिरमा समय मिलाउन नसकेपछि कुचैनीस्थित शिव नमूना निमाविको शिक्षक पदबाट उनले राजीनामा दिए । 

आचार्य भन्छन्, ‘त्यसपछि पनि प्राध्यानाध्यापक र क्याम्पस प्रमुख बन्ने प्रस्ताव आएका थिए तर मलाई लाग्छ, कृषि पेशा झन् खुला विश्वविद्यालय नै हो । यस क्षेत्रमा पनि धेरै काम गर्न सकिन्छ ।’ 

सरकारले हेर्दैन

२०७४ सालमा हावाहुरीका कारण आचार्यको फार्ममा ७० लाख रुपैयाँको बराबरको केरा नष्ट भयो तर उनले सरकारबाट राहत सहयोग पाएनन् । अहिले नगरपालिकाबाट पनि सहयोग, सल्लाह र सुझाव नपाएको उनको गुनासो छ ।

आफ्नै बलबुतामा केरा खेती गरिरहेका आचार्य यही खेतीलाई अझै विस्तार गर्ने सोचमा छन् । भन्छन्, ‘केरा खेतीमै सन्तुष्ट छु, आफ्नै मेहनतले कमाएको छु । कमाइले परिवार पाल्ने मात्र होइन, अरुलाई पनि काम दिन सकेको छु ।’ उनको फार्ममा प्रत्यक्ष–अप्रत्यक्ष १५ जनाले रोजगारी पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्