
ब्यास नगरपालिका-५, पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट चितुवाको छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीनजनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६, सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका-१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।
उनीहरूमध्ये अर्जुनको साथबाट २ थान चितुवाको छाला, बा ४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रूपैयाँ , सन्जितको साथबाट १२२ वटा हड्डीहरू, ग १८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रूपैयाँ र सन्तोषको साथबाट बा ३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद तीन हजार ५८५ रूपैयाँ, एक थान लाइटर र एक थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरूसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।