
घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लिले बिजनेस अक्सिजन प्रा.लि.मार्फत बैदेशिक लगानी भित्र्याएको छ ।
स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज्ड गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उदेश्यले हेल्थ एट होमले वैदेशिक लगानी भित्राएको हो ।
यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने कम्पनीको दावी छ ।
१२ वर्ष अगाडी डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ ।
हाल हेल्थ एट होम मार्फत करिब १० हजार भन्दा बढि घरले स्वास्थ्य सेवा लिइरहेका छन् ।
हेल्थ एट होममा हाल ४ सय जना भन्दा बढि स्वास्थ्यकर्मी समेत कार्यरत छन् भने हेल्थ एट होमले घरमै पुगेर विरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ ।
हेल्थ होमले कोभिड महामारीका बेलामा समेत विरामीहरूलाई घरघरमै पुगेर उपचार गर्दै आइरहेको छ ।
देशव्यापी सञ्जाल बनाउने उदेश्य राखेको हेल्थ होमले उपत्यका बाहिर तीनवटा शाखा मार्फत समेत आफ्नो सेवा दिँदै आएको छ ।
हेल्थ एट होमले विभिन्न किसिमका अन्तराष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ ।
हेल्थ एट होम २०१२ मा सूर्य नेपाल सामाजिक उद्यम पुरस्कार र २०१४ मा अमेरिकी सरकारबाट सामाजिक कार्यक्रम पुरस्कार समेत प्राप्त गर्न सफल संस्था हो ।
बिजनेस अक्सिजन प्रा.लि. नेपालको पहिलो निजी इक्विटी कोष हो । यो अन्तराष्ट्रिय वित्त निगम,डिएफआइडी/एफसिडिओ/जलवायु लगानी कोष लगायतको कोषबाट सञ्चालित छ ।