
अवैध लागूऔषध कोकिन २ केजी ९६६ ग्रामसहित ३ जनालाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।
लागूऔषध बोकेर दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट केपटाउन, त्यहाँबाट कतारको दोहा हुँदै नेपाल आएकी अफ्रिकन नागरिक शिर्ले गामा, नेपालमा मध्यस्थता गर्दै आएकी ताञ्जेनियाकी नागरिक २६ वर्षीया गेरटुर्डे लिओनार्ड किमारो र कोकिन लिन आएका भारतीय नागरिक विजय सिंहलाई पक्राउ गरेर प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
कसरी नेपाल आइपुग्यो कोकिन ?
दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा सुटकेशमा फल्स बटम बनाएर २ केजी ९६६ ग्राम कोकिन लिएर अफ्रिकाको जोहानेसबर्गबाट अगस्ट १८ अर्थात भदौ २ गते केपटाउन एयरपोर्ट आइन् । त्यहाँबाट उनी कतार एयरलाइन्समार्फत कतारको राजधानी दोहा आइन् ।
त्यहाँबाट उनी सिधै भारत गइन्, तर भारतले उनलाई भिसा दिएन र फर्कादियो । त्यहाँबाट नेपाल अनअराइभल भिसा माग्न आइपुगिन् । नेपालले अफ्रिकनलाई अनअराइभल भिसा दिँदैन तर समस्या परेको खण्डमा जरिवाना तिरेर आउन सक्ने व्यवस्थाको फाइदा उठाउँदै नेपाल पर्यटक भिसामा आइन् ।
त्यहाँबाट नेपाल भित्रिँदा प्रहरीले अफ्रिकन नागरिक भएकै कारण उनलाई निगरानीमा राख्यो ।

उनी त्यहाँबाट लाजिम्पाटको एउटा होटलमा बस्न गइन् । उनले कोकिन बोकेर आएको सूचना प्रहरीले त्यही दिन पाएको थियो । सोही कारण उनको निगरानी गर्यो ।
उनले ३ वटा एयरपोर्ट कटाएर नेपालको एयरपोर्ट पनि कटाइन् । प्रहरीले सूचनाका आधारमा उनको पिछा गर्यो । प्रहरीले उनलाई निगरानीमा राखिरहेकै थियो ।
प्रहरीले अरू पनि संलग्न हुनुपर्छ भन्ने सूचनाका आधारमा ६ दिनसम्म उनको पिछा गरिरह्यो ।
त्यसबीचमा उनी दरबारमार्गको केएफसी आइन् । त्यहाँ उनी केही समय बसिन् । बाहिरबाट उनलाई कसैले निगरानी गरिरहेको थियो ।
अर्थात् उनलाई नेपालमा विगत २ वर्षदेखि विद्यार्थी भिसामा बसिरहेकी ताञ्जेनियाकी गेरटुर्डे लिओनार्ड किमारोले काउन्टर सर्भिलेन्स गरेको अनुसन्धानमा खुलेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एसपी जीवनराम श्रेष्ठले बताए ।
‘ती व्यक्तिसँग प्रहरी आएको छ कि छैन, अरू कसैले पिछा गरेको छ कि छैन भन्ने यकिन गर्नका लागि काउन्टर सर्भिलेन्स गर्दा रहेछन्,’ एसपी श्रेष्ठले भने, ‘त्यहाँ किमारोले गामालाई भेटिनन्, बाहिरबाट सर्भिलेन्स गरेर फर्केकी रहिछन् ।’
त्यसपछि त्यो लागूऔषध लिनका लागि भारतका ३३ वर्षीय विजय सिंह आए । प्रहरीले कोकिन लिन को आउँदैछ भनेर भदौ ३ गतेदेखि ८ गतेसम्म कुरेर बसेको थियो ।
उनी आएपछि प्रहरीले दुवैलाई पक्राउ गर्यो । त्यो थाहा पाएको केही समयमै ताञ्जेनियाकी किमारो भारततर्फ भाग्दै गर्दा सिन्धुलीको खुर्कोटबाट ९ गते पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

काठमाडौंमा लागूऔषधदेखि यौन धन्दासम्म
सन् २०१९ को शुरूआतमा पर्यटक भिसामा नेपाल आएकी ताञ्जेनियाकी २६ वर्षीया गेरटुर्डे लिओनार्ड किमारो पछिल्लो दुई वर्षदेखि विद्यार्थी भिसामा नेपाल बस्दै आएकी छिन् ।
विश्व भाषा क्याम्पसमा नेपाली विषय अध्ययन गर्ने बहानामा काठमाडौंको क्षेत्रपाटीमा २० हजारमा फ्ल्याट भाडामा लिएर बसेकी छन् ।
एक्लै बस्दै आएकी किमारोले फ्ल्याटमा यौनधन्दा समेत चलाउँदै आएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
‘उनले अरू पनि धन्दा गर्दै आएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘हामीले अहिले लागूऔषधको पाटो मात्रै हेरिरहेका छौं ।’
उनले नेपालमा बसेर भारतमा रहेका लागूऔषधका कारोबारी र अफ्रिकामा रहेका एजेन्टहरूसँग सम्बन्ध राख्दै आएको अनुसन्धानमा खुलेको एसपी श्रेष्ठले बताए ।
उनले लागूऔषध लिएर आउने व्यक्तिलाई चिन्ने तर बोकेर आउनेले उनलाई नचिन्ने हिसाबले काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।