
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बजेट परिमार्जन गर्न सहमत भएको छ ।
अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट अहिलेको सरकारले परिमार्जन गर्न लागेको हो ।
गठबन्धनका नेताहरू बजेट परिमार्जन गर्न सहमत भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
‘बजेट परिमार्जनको लागि अर्थमन्त्री र योजना आयोगले छलफल गरेर टुंगो लगाउने भनिएको छ । बाँकी काम उहाँहरूले गर्नुहुन्छ,’ बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले लोकान्तरसँग भने ।
अहिलेसम्मको राजनीतिक घटनाक्रम, बाढीपहिरोको अवस्था र कोरोना महामारी नियन्त्रणलगायतको विषयमा गठबन्धनको बैठकमा छलफल भएको उनले बताए ।
सरकारलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल भएको खड्काले बताए । ‘चाँडैै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । तर, कहिलेसम्ममा पूर्णता दिइसक्ने भन्ने समय भने यकिन गरिएको छैन,’ खड्काले भने ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरू बैठकमा सहभागी भएका थिए ।