
उत्तर कोरियाले यंगब्यन आणविक भट्टी पुनः शुरू गरेको संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले एक प्रतिवेदनमा उल्लेख गरेको छ ।
यस भट्टीमा आणविक हतियारका लागि प्लुटोनियम तयार पारिएको बताइएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई सन् २००९ मा उत्तर कोरियाले देशनिकाला गरेको थियो । उसका आकलनहरू भूउपग्रहीय तस्वीरमा मात्र आधारित छन् ।
एजेन्सीको पछिल्लो प्रतिवेदनमा उल्लेख भएअनुसार, जुलाई महिनाको आरम्भदेखि आणविक भट्टीमा लगातार भइरहेको गतिविधिका कारण त्यो फेरि शुरू गरिएको संकेत पाइएको हो ।
जुलाई महिनादेखि कूलिङ वाटर निस्किरहेकोले त्यो सञ्चालनमा रहेको एजेन्सीको कथन छ ।
यंगब्यन ५ मेगावाट रियाक्टर भएको आणविक भट्टी हो र त्यसलाई उत्तर कोरियाको आणविक कार्यक्रमको केन्द्र मानिन्छ ।
सन् २०१८ को डिसेम्बर महिनापछि रियाक्टरमा यस्तो गतिविधि गरिएको यो पहिलो संकेत हो ।
यंगब्यनमा विशेषज्ञहरूले लामो समयदेखि निगरानी गर्दै आएका छन् । उत्तर कोरियाले कतिवटा हतियार बनाउन सक्छ भनी पत्ता लगाउन यस्तो निगरानी गरिएको हो ।
भट्टीमा भइरहेको ताजा गतिविधिले आणविक हतियारमा उपयोग गरिने प्लुटोनियम निकालिएको संकेत दिएको चेतावनी आईएईएले दिएको छ ।
अमेरिकासँगको वार्ता दिशाहीन भएपछि गत जनवरी महिनामा किम जोङ उनले आणविक हतियार पुनः विकसित गर्ने बताएका थिए । आफ्ना वैज्ञानिकहरूले सानो आकारका तथा सामरिक हतियार र अत्यधिक विशाल हाइड्रोजन बम बनाउने उनले बताएका थिए ।
उत्तर कोरियाको नयाँ गतिविधि अमेरिकाका राष्ट्रपति जो बाइडनका लागि नयाँ टाउकोदुखाइ साबित हुन सक्छ । बाइडनले उत्तरसँग वार्ता गर्ने बताएका छन् तर उनका नीतिहरूमा उत्तर कोरिया प्राथमिकतामा परेको छैन ।