
अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि हजारौं अफगानीहरू डरका कारण देश छोडेर भागिरहेका छन् । तीमध्ये सयौं मानिस चमन नाका पार गरेर पाकिस्तान पुगेका छन् ।
चमन अफगानिस्तान सीमा नजिक रहेको पाकिस्तानको सानो नगर हो । त्यहाँ आजकल धेरै हलचल देखिन थालेको छ । ठूलो संख्यामा अफगानिस्तानबाट मानिसहरू त्यहाँ पुगेका छन् । सीमापारि पनि हजारौं मानिस पाकिस्तान प्रवेश गर्नका लागि प्रतीक्षारत छन् ।
पाकिस्तान आइपुगेका अफगानीहरूको अनुहारमा राहतका साथै भविष्यको चिन्ता पनि देखिन्छ ।
काबुलमा घरबार त्यागेर चमन आइपुगेकी जिरकून बीबी (नाम परिवर्तन) टेन्टमा बस्छिन् । उनी भर्खरै आइपुगेकी हुन् । आफ्नो समुदायको मानिसले उनलाई कुनै अज्ञात ठाउँमा लग्ने आशा उनले गरिरहेकी छन् किनकि उनको कुनै पनि नातेदार पाकिस्तानमा छैन ।
जिरकून बीबी हजारा समुदायकी हुन् र जिन्दगीमा दोस्रोपटक शरणार्थी बनेकी हुन् ।
उनको एक मात्र छोरो एक बेलायती कम्पनीमा काम गर्छन् । छोरा अफगानिस्तानबाट अहिलेसम्म निस्कन सकेका छैनन् । उनी भन्छिन्, ‘मेरी बुहारी मारिएपछि म लामो समयसम्म राति सुत्न सकेकी थिइनँ ।’
तालिबानले बम विस्फोट गराएर केही वर्षअघि हजारा समुदायलाई तारो बनाउँदा उनकी बुहारी मारिएकी थिइन् ।
उनले भनिन्, ‘तालिबान अत्यन्तै खतरनाक छन् । म उनीहरूसँग डराउँछु । उनीहरूमा अलिकति पनि दयामाया छैन । उनीहरू निर्दयी छन् ।’
जिरकून बीबीका दुई जवान छोरीहरू उनीसँगै छन् र नातिनी पनि काखमा छिन् । उनीहरू घर छोडेर भाग्नुपरेको हो ।
उनले भनिन्, ‘बुहारीको मृत्यु देखेकी छु । अर्को दुःख झेल्ने हिम्मत मसँग छैन । मलाई घर वा सामानको मतलब छैन । छोरो र उसकी छोरीको मात्र मतलब छ । म यस बच्चीकी आमालाई आफ्नै हातले चिहानमा गाडेकी छु । बच्चा पाल्न कति गाह्रो छ, म थप एक सदस्य गुमाउन चाहन्नँ ।’
गजनीकी जारमीने बेगम शिया समुदायकी हुन् । उनी पनि केही महिलाका साथ पाकिस्तान सीमा पुगेकी छन् । अफगानिस्तानमा शिया समुदायका मानिसलाई पनि तालिबानले पहिले निशाना बनाउने गरेको थियो ।
जारमीनेको उमेर ६० वर्षभन्दा माथि छ । उनी भन्छिन्, ‘तालिबान शासनमा आएपछि हामी धेरै डरायौं अनि त्यहाँबाट भाग्ने निर्णय लियौं ।’
तर सीमामा पनि स्थिति राम्रो नभएको जारमीने बेगम बताउँछिन् । महिलाहरूका लागि प्राइभेसी नभएको उनको गुनासो छ । तर देश छोड्नुको विकल्प नभएकाले आफूहरू दुःखसुख गरेर बसिरहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘तालिबान फर्केका छन् । फेरि आतंकको समय शुरू भएको हाम्रो आशंका छ । उनीहरू हाम्रो घरमा खानतलास गरिरहेका छन् । सरकारी अधिकारीहरूलाई उनीहरू खोजिरहेका छन् । हिंसाको शृंखला पुनः शुरू हुन लागेको छ ।’
जिरकून जस्तै जारमीने पनि दोस्रोपटक विस्थापनमा परेकी हुन् । उनले भनिन्, ‘सन् १९८० को दशकमा हामी युवा थियौं र परिस्थिति अनुसार ढल्न सकेका थियौं । अहिले त अलिकति हिँड्दा पनि स्याँस्याँ हुन्छ ।’
चमन स्पिन बोल्डक सीमा पाकिस्तान र अफगानिस्तानबीचको सबभन्दा व्यस्त नाकामध्ये एक हो । यस नाका हुँदै प्रत्येक दिन हजारौं व्यापारी एक देशबाट अर्को देश जान्छन् । तर अहिले पाकिस्तान आउने मानिसको संख्या निकै धेरै छ ।
चर्को घाममा धूलाम्मे भएका सयौं मानिस काँधमा सामान उठाएर आइरहेका छन् । बुर्का लगाएका महिला पनि आफ्ना पतिको पछिपछि बच्चा सम्हालेर हिँडिरहेका छन् ।
भीषण गर्मीमा कैयौंको गोडामा जुत्ता चप्पल पनि देखिएन । ह्वीलरमा मानिसलाई राखेर पाकिस्तान सीमा ल्याइँदैछ । युवा र महिला पनि त्यसमा छन् ।
१८ वर्षका जमाल खान काबुलमा ११ कक्षाका विद्यार्थी थिए । उनलाई तालिबानले कुनै प्रतिरोध नबेहोरिकनै अफगानिस्तानमा नियन्त्रण स्थापित गर्दा निराशा छाएको छ ।
उनले बताए, ‘सबैलाई आफ्नो घरमा बस्न मन लाग्छ । तर हामी घर छोड्न बाध्य भयौं । हामीलाई पाकिस्तान वा अन्य कुनै देश जान मन लागेको छैन । सबैजना चिन्तित छन् तर उनीहरूसँग देशमा कुनै आशा छैन ।’
तालिबान फर्केपछि अफगानिस्तानमा महिलाको स्थितिको बारेमा जमाल बताउँछन्, ‘तालिबानको नियन्त्रण हासिल गरेको भोलिपल्ट म काबुलका गल्ली र बजारमा निस्कँदा महिला देखिनँ । तैपनि देखिएका केही महिलाले शरीरलाई पूरै ढाकेका थिए ।’
यसपटक तालिबानले महिलालाई पहिलेको जस्तो दुर्व्यवहार गरेका छैनन् । तर महिलाहरू बेस्सरी डराइरहेको जमालले बताए ।
पाकिस्तानमा कैयौं विश्लेषकहरूले अफगान तालिबानले आफूलाई परिवर्तन गरेको बताएका छन् । उसले आफूलाई राजनीतिक इकाइका रूपमा स्थापित गरेको तर अतीतलाई त्याग गर्न उसलाई केही समय लाग्ने विश्लेषकहरूको कथन छ ।
तर तालिबानप्रति विश्वास बहाल नहुन्जेल अफगान नागरिक आफ्नो जीवन र भविष्यका लागि भागिरहनेछन् । तालिबान शासनमा आफूहरूको भविष्य नरहेको उनीहरू बताउँछन् ।